कहिले उपयूक्त लोकेशनको अभाव त कहिले आर्थिक समस्याका कारण बारम्बार स्थगित हुदै निर्माण गरिएको मेघा प्रोजेक्टको चलचित्र 'आई एम सरी' को छायाकंन अठार महिनामा आएर सकिएको छ ।
वितरकको हिसावले उक्त चलचित्रमा करिब ४० लाख लगानी गरिसकेका सुनिल मानन्धरका अनुसार सोमबार राति भृकुटीमण्डपमा सिनेमाको इन्डक्ल्याप गरिएको हो । हरि महतले निर्माण गरेको 'आई एम सरी' लाई दिनेश राउतले डेब्यू फिल्मको रूपमा निर्देशन गरेका हुन । भ्यालेन्र्टाईन डे लक्षित गर्दै माघ २७ गते रिलिज तयारी भएको उक्त चलचित्रको छायाकंन स्टूडियोमा नगरिएको बताईएको छ ।
निर्माण पक्षले जानकारी गराए अनुसार हरेक सिनलाई सेट बनाएर सुटिङ गर्दा समय लम्बिएको हो । विगत एक दशक देखि वितरकको रूपमा सक्रिय मानन्धरले आई एम सरी मा जस्तो सेट हाल सम्म नेपाली चलचित्रमा प्रयोग नभएको दावी पनि गरेका छन् । उनले भने, 'सानो-सानो कुरामा पनि आकर्षक ढङ्गले सेट बनाएर खिचिएको छ । त्यसैले फिल्म उत्कृष्ट हुनेमा दुई मत छैन ।' 

यस्तै मानन्धरले छायाकंनमा २ सय ४० किलोको वाटको लाईट प्रयोगले पनि फिल्मको भिजुअल क्लियर आएको दावी गरेका छन् । उनले भने, 'अन्य सिनेमामा ६० देखि बढीमा १ सय किलोवाटको लाईट प्रयोग हुन्छ तर यो फिल्ममा हामीले २ सय ४० किलोको बत्ती प्रयोग गरेका छौ ।'
मानन्धरका अनुसार प्रोमोशन सहित रिलिज डेट सम्म फिल्मको बजेट थोरैमा पनि एक करोड पचास लाख पुग्ने छ । चलचित्रमा आर्यन सिग्देल र केकी अधिकारी लिडरोलमा छन् ।

