मिति : २०८२ वैशाख ३१, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

एक दिनमा कति घाटा रेकर्ड छैन !

फिल्मीखबर, काठमाण्डौ, 2011/12/19

अन्य दिनमा समेत  नेपाली सिनेमाको बिजनेस राम्रो हुन नसकिरहेको अवस्थामा सोमबार नेपाली काँग्रेसले आहृवान गरेको नेपाल बन्दले सिनेमाको विजनेसमा प्रत्यक्ष  असर पुर्‍याएको छ । 

 
बन्दका कारण  फुर्सद भएपनि यातायात ठप्प  हुँदा दर्शक सिनेमा हलसम्म पुग्न सकेका छैनन् । जसकारण निर्माता देखि प्रदर्शकलाई चर्को घाटा हुने पक्का छ । तर चलचित्रसंग सम्बन्धीत निकायसंग सिनेमाको बिजनेस घाटा-नाफाको यकिन डाटा छैन । निर्माता संघका अध्यक्ष  राजकुमार राईको भनाई मान्ने हो भने सिनेमा उद्योगलाई एक दिनको बन्दले १५ देखि ५० लाख घाटा पर्छ । त्यस्तै उनका अनुमानित भनाई अनुसार फ्लोरमा रहेका चलचित्रको सुटिङ तथा प्रोष्टप्रोडक्सनको काम रोकिदा एक देखि डेढ करोडको धक्का पर्न जान्छ ।
 
बक्स अफिसको योजना कागजमा भएपनि ब्यबहारिक रूपले लागू नहुँदा यो समस्या आएको भन्दै अध्यक्ष राई भन्छन्, 'सिनेमाको नाफा-घाटाको बिषयमा केन्द्रित भएर आगामी बस्ने कार्यसमितिको बैठकले एउटा निर्णय गर्दैछ ।'   हाल देशभर १ सय ७० सिनेमा घर सञ्चालनमा छन् । जुन एक दिने बन्दको प्रत्यक्ष मारमा परेका छन् । 
 
 
यस्तै एक दशक देखि सक्रिय रहेका वितरक सुनिल मानन्धरको मौखिक भनाईलाई आधार मान्ने हो भने एक दिने बन्दले  सिनेमाको बिजनेसमा  ३० लाख घाटा पर्ने छ । जस मध्ये बन्दको मारमा रिलिज भएको सम्बन्धीत सिनेमाको निर्माता सवैभन्दा बढी पिडित हुने उनी बताउछन् । उनी भन्छन्, 'एक दिन बन्द भयो भने त्यसको अघिल्लो दिन देखि बन्दको भोलीपल्ट सम्म फिल्म चल्दैन त्यसैले घाटा सिधै निर्माताको टाउकोमा ।'
 
काठमाण्डूको चाबहिल स्थित  गोपीकृष्ण सिनेमा भवनमा एक दिनको बन्दले करिब ५० हजार कलेक्सनमा घाटा लाग्ने बताईएको छ । उक्त हलका प्रवन्ध निर्देशक प्रदीप दाहाल भन्छन्, 'सोमबार देखि बिहिबारसम्म औषत ब्यापार हुनाले ५० देखि ६० हजार कलेक्सनमा धक्का पर्न जान्छ ।' चलचित्र संघका महासचिव प्रदीप उदयको पनि मौखिक भनाईलाई आधार मान्ने हो भने देशभरका हलको कलेक्सनमा मात्र ४० देखि ५० लाख घाटा पर्छ । तर विगतको तुलनामा यो कलेक्सनको प्रतिशत करिब पचास प्रतिशत घटेको भन्दै धक्का पनि सोही अनुरूप घटेको उदयको तर्क छ ।
 
 चलचित्र प्राविधिक संघको भनाईलाई आधार मन्ने हो भने सिनेमा उद्योगसंग सम्बन्धीत प्राविधिक र कलाकार गरी करिब १७ हजार प्रत्यक्ष-अप्रत्यक्ष रूपमा संग्लन छन् । जसमध्ये प्राविधिक मात्र ८ हजार र त्यस मध्येको ४ हजार प्राविधिकको एक दिन काम नहुदा रोजीरोटी समेत गुम्ने अवस्था छ । त्यसैले यो बन्दले अरू भन्दा ४ हजार भित्र पर्ने प्राविधिकहरू सवैभन्दा बढी मारमा पर्ने प्राविधिक संघका महासचिव अनन्त तिम्लिसिना  बताउछन् । एउटा साधारण प्राविधिकले दैनिक ज्यालादारीमा औषत १ हजार देखि २ हजार सम्म पारिश्रमिक पाउने गर्छ ।