
स्वर्गीय संगीतज्ञ नातिकाजी श्रेष्ठको ८७ औँ जन्मजयन्तीको अवसरमा आज काठमाण्डूमा आयोजित पुरस्कार वितरण एवं सम्मान कार्यक्रममा संगीतकार शम्भुजित बास्कोटाले कलाकारको श्रृजनालाई सरकारले संरक्षण गर्न चासो नदिएको भन्दै सरकारप्रति गुनासो ब्यक्त गरेका छन् ।
नातिकाजी स्मृति समाजले आयोजना गरेको कार्यक्रममा उक्त समाजको अध्यक्षको हैसियतमा बोल्दै बास्कोटाले भने, 'सरकारले नातिकाजी जस्ता संगीतज्ञले सृजना गरेको अमर कृतिलाई संरक्षण गर्न चासो दिदै संग्रहालय खोल्नु पर्छ ।' यस्तै बास्कोटाले कालजयी संगीत दिएका नातिकाजीको संगीतलाई नयाँ पुस्तामाझ यथावत राख्न म्यूजिक लाईब्रेरीको अवधारणा तुरून्त ल्याउन सरकार समक्ष माग पनि गरेका छन् ।
विगत आठ बर्षदेखि नातिकाजि स्मृति समाजको आयोजनामा हुदै आएको नातिकाजी स्मृति सम्मान तथा पुरस्कार वितरण कार्यक्रमलाई निरन्तरता दिदै यसबर्ष आठ संगीतकर्मी मध्ये चारलाई नातिकाजी स्मृति सम्मानले बिशेष सम्मान गरिएको छ भने बाकी चारलाई नगद रू ११ हजार १ सय ११ सहित पुरस्कार पनि प्रदान गरिएको छ । पुरस्कृत हुनेहरू तर्फ संगीतकार प्रकाश गुरूङ, रचनाकार भैरवनाथ रिमाल (कदम) गायिका ज्ञानु राणा र गायक ओमविक्रम विष्ट रहेका छन् । 

यसैगरी सम्मान तर्फ राष्ट्रकवि माधव प्रसाद घिमिरे, अम्बर गुरूङ, दुर्गालाल श्रेष्ठ र शुभबहादुर सुनाम रहेका छन् । सम्मानित एवं पुरस्कृत हुनेहरूलाई नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति बैरागी काईलाले सम्मान प्रदान गरेका थिए ।
आधादर्जन नेपाली चलचित्रमा समेत संगीत भरेका स्वर्गीय नातिकाजीद्धारा संगीतबद्ध चलचित्रका गीतहरूलाई पनि कार्यक्रममा प्रिमियर गरिएको थियो भने नातिकाजी स्मृति समाजको अफिसियल वेबसाइट www.natikazismritisamaj.com को शुभारम्भ गरिएको छ । उक्त वेवसाइटमा नातिकाजी स्मृति समाजले गर्ने हरेक कृयाकलाप र नातिकाजीसंग सम्बन्धीत सम्पूर्ण संगीत सामग्री भण्डारन गरिने बताईएको छ ।
नातिकाजीले पच्चिस बसन्त, शान्तिदीप, सिन्दुर ,मनको बाध, चेलीबेटी भन्ने चलचित्रमा संगीत भरेका छन् । जस मध्ये मनको बाधमा उनले संगीत भरेको 'फूलको थुङ्गा बगेर गयो गंगाको पानीमा, कहिले पो भेट होला ए राजै यो जिन्दगानीमा... भन्ने गीत अझै कालजयी छ ।