'कला र कलाकार राष्ट्रका गहना हुन् यिनको सम्मान गरौ' भन्ने उद्देश्यका साथ स्थापना भएको नेपाल सांस्कृतिक कला मन्दिर मच्छेगाँउले आफ्नो दशौ वार्षिक उत्सवको अवसर पारेर बरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठ, कवि दुर्गालाल श्रेष्ठ सहित दुई दर्जन बढि कलाकार र पत्रकारलाई मच्छेगाँउ सम्मान प्रदान गरेको छ ।
शनिवार मच्छेगाँउको ढोकटोलमा भएको सम्मान कार्यक्रममा लामो समयदेखी नेपाली चलचित्र क्षेत्रमा अनवरत रुपमा योगदान पुर्याएका देखि नयाँ पुस्ताका कलाकार–पत्रकार समेटिएको थियो । तर आकस्मीक रुपमा भएको उपत्यका बन्दको कारण केही कलाकार सम्मान थाप्न पुग्न सकेका थिएनन् । कार्यक्रममा चार जना बरिष्ठ कलाकारलाई मच्छेगाँउ विशेष सम्मान र बाकीलाई मच्छेगाँउ सम्मान प्रधान गरियो ।
सम्मानितलाई बाजागाजा सहित मच्छेनारायण मन्दिर आसपास परिक्रमा गराई स्टेजमा पुयाइएको थियो । मच्छेगाँउ विशेष सम्मान पाउनेमा बरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठ, कवि दुर्गालाल श्रेष्ठ, नायक शिव श्रेष्ठ तथा भुवन केसी थिए । बन्दका कारण शिव र भुवन कार्यक्रममा पुग्न सकेनन् । संविधान सभाका उपसभामुख पुर्णकुमारी सुवेदीले सम्मानितलाई सम्मान प्रदान गर्ने कार्यक्रम रहेपनि उपत्यका बन्दका कारण प्रमुख अतिथि साटो स्थानीय बयोबृद्ध गुरुचा शाहीले विशेष सम्मान प्रदान गरेका थिए ।
मच्छेगाँउ सम्मानबाट सम्मानित
हुनेहरुमा द्वन्द्व निर्देशक एनवी महर्जन, हास्य जोडी शिवहरी पौडेल र किरण केसी
, हास्यब्यंग्यकार शैलेन्द्र सिंखडा, गायक-संगीतकार नरेन्द्र प्यासी, गायिका निशा देशार, संगीतकार चेतन सापकोटा, नृत्य निर्देशक कविराज गहतराज, पत्रकारिता तर्फ रिपोटर्स क्लवका अध्यक्ष ऋषि धमाला, हिमाल खबर पत्रिकाका डम्बरकृष्ण श्रेष्ठ 'अनुशील', अन्नपुर्ण पोष्टका मनोज श्रेष्ठ, कान्तिपुर साप्ताहिकका कृष्ण भट्टराई त्यसै गरि अमेरिकाबाट प्रकाशीत हुने नेपाल चौतारी नामक मासिक पत्रिकाका प्रधानसम्पादक प्रशान एलुङ राई लगायत सम्मानीत भए ।
त्यस्तैगरी स्थानीय समाजसेवी डा. भाइकाजी तिवारीलाई पनि सम्मान गरियो । नेवारी कलाकारतर्फ चलचित्रकी महिला निर्देशक सुनिता राजभण्डारी, निर्देशक आर्यम नकमी, अमृत चन्द्र श्रेष्ठ, गायक सुमन कपाली, किशोर शाहीलाइ सम्मानित गरियो । उनीहरूलाई चलचित्र विकाश वोर्डका अध्यक्ष गणेश भण्डारी ताम्रपत्र प्रदान गरेका थिए । कला र संस्कृतिको जगेर्ना गर्ने र बर्षौ देखी योगदान गर्ने देखि नयाँ कलाकारलाई प्रोत्साहन गर्न र सम्मानको संस्कृति बसाउन कार्यक्रम आयोजना गरीएको कार्यक्रम संयोजक तथा संस्थाका अध्यक्ष रमेश शाहीले बताए । कार्यक्रममा सम्मानीत तथा अन्य स्थानीय कलाकारले आ-आफ्नो प्रस्तुती मार्फत उपस्थित दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए ।