
काठमाण्डौको आकर्षक ग्रामिण भेग मच्छेगाउँको क्लब 'नेपाल सांस्कृतिक कला मन्दिर' ले आफ्नो १० औं बार्षिकोत्सवको अवसरमा नेपालका ख्याती प्राप्त करिब दुई दर्जन कलाकारहरूलाई सम्मान गर्ने भएको छ ।
आफ्नो गाउँको कला संस्कृतिको जगेर्ना तथा गाउँलाई देशभर चिनाउनको साथसाथै राष्ट्रका गहना मानिने कलाकारको सम्मान गर्दै उनीहरुको हौसला बढाउन यस्तो सम्मान कार्यक्रमको आयोजना गरिएको मंगलबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराईयो । आगामी पौष २ गते एक भव्य कार्यक्रमको आयोजना गरी चलचित्र, गीतसंगीत क्षेत्रमा आफ्नो अमूल्य योगदान पुर्याउने कलाकारको साथमा केहि पत्रकारहरूलाई पनि सम्मान गर्न लागिएको कला मन्दिरका अध्यक्ष रमेश शाहीले जानकारी गराए ।
कार्यक्रममा हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ, अभिनेता शिब श्रेष्ठ, भुवन केसी, अभिनेत्री करिष्मा मानन्धर देखि लिएर नायक दिलिप रायमाझी, रोज राणा, द्वन्द निर्देशक राजेन्द्र खड्गी, एनबी महर्जन, निर्माता बितरक बसन्त श्रेष्ठ, मदनमान बज्राचार्य, संगीतकार चेतन सापकोटा, गायक प्रमोद खरेल, दिपक लिम्वु लगायतका रहेका छन् । यसैगरी पत्रकारतर्फ ऋषि धमला, प्रकाश सुवेदी, डम्बरकृष्ण श्रेष्ठ, कृष्ण भट्टराई, मनोज श्रेष्ठ लगायत सम्मानित हुनेछन् ।