
नेपालमा सिनेमा टुरिजमलाई बिस्तार गर्ने प्रयास स्वरूप नेपाल टुरिजम बोर्डले आफ्नो सहकार्यमा भारतका चर्चित कलाकारहरूलाई 'नेपाल कन्सर्ट' गर्न सहयोग गर्ने भएको छ ।
भारतको साईबाबा टेलिफिल्मस एण्ड थर्टवेभस मिडियाको आयोजना आउदो बैशाख महिनामा हुने बलिउड नाइटका लागि बोर्डले सलमान खान, प्रियंका चोपरा लगायतका एक दर्जन सिने सेलिब्रेटीहरूलाई नेपाली डायस्पोरामा उतार्न सहयोग गर्ने भएको हो । कार्यक्रमका बारेमा मंगलबार टुरिजम बोर्डमा जानकारी दिन आयोजित प्रेस मिट तथा छलफल कार्यक्रममा विश्वविख्यात सिनेकर्मीको नेपाल उपस्थितिले पर्यटन प्रबर्धन गर्न सहयोग पुर्याउने एवं अन्य मूलुकमाझै नेपाली भूमिमा भारतीय सिनेमाको छायाकंनले दुई देशका चलचित्र उधोगलाई फाईदा पुग्ने विश्वास ब्यक्त गरिएको छ ।
कार्यक्रममा दिएको जानकारी अनुसार एक दिने बलिउड नाइटमा सलमान र प्रियंकाको अलवा माधुरी दिक्षीत, जोन अब्राहाम, अर्जुन राम्पाल, साहिद कपुर, रितेश देशमुख, रणवीर सिंह, सोनाक्षी सिंन्हा , अनुष्का शर्मा, थ्री ईडियटस भाईरस बुमन ईरानीको साथमा गायिका श्रेया घोषाल, अलिसा चेनाई , फरान अख्तर तथा केही चर्चित ब्याण्डले दशरथ रंगशाला र टुडिंखेल मध्ये एक स्थानलाई बलिउडमय बनाउने छ ।
विभिन्न टेलिभिजन शो निर्माण गर्दै आएको साईबाबा टेलिफिल्मसका मार्केटिङ प्रमुख धीरज रहेना सहित आयोजका तर्फबाट तीन जनाको उपस्थितिमा आयोजित कार्यक्रममा आयोजकले कार्यक्रम तालिकाका बारेमा सम्पूर्ण जानकारी दिईएको थियो ।
दशक अघि नेपालमा केही भारतीय चलचित्र निर्माण भएपनि पछिल्लो समय बलिउड फिल्म मेकरले नेपालमा सुटिङका लागि चासो नदेखाएको प्रति टुरिजम बोर्डले सिनेमा टुरिजमको पहिलो प्रयास स्वरूप बलिउड नाइटलाई सफल पार्न सहयोग गर्ने भएको हो । बोर्डका बरिष्ठ निर्देशक सुवास निरौलाले भने, 'हामीले हरेक सेक्टरलाई टुरिजमसंग जोड्ने प्रयास गरेका छौ त्यसैले यो सेक्टर छुट्न गएकाले यस्तो योजना ल्याईएको हो । त्यसैले मलाई विश्वास छ यो सहकार्यले नेपालको पहिचान विश्वभर हुनेछ ।'
यस्तै सिनेमा टुरिजमका सम्बन्धमा निर्देशक तुलसी घिमिरेले बलिउड नाइट हुने केही दिन अघि दुई देशका फिल्म समेटर एउटा महोत्सव गरेको खण्डमा सिनेमा टुरिजमलाई अगाडी बढाउने अझ सहयोग हुने बताए । निर्देशक नारायण पुरीले बलिउड नाईटका लागि प्रस्तावित मध्ये ५० प्रतिशत कलाकारहरू उपस्थित भए मात्र पनि नेपालको पहिचान अर्न्तराष्ट्रिय स्तरमा पुग्न कठिनाई नहुने बिचार ब्यक्त गरे । तर उनले विश्व चर्चित कलाकारहरूलाई सुरक्षाको प्रत्याभूतिमा कन्जुसाई गर्ने सरकार प्रति प्रश्न गरे ।
यस्तै नेपालमा छायाकंन भएका भारतीय सिनेमामा प्रत्यक्ष संग्लन भएका निर्देशक नरेश पौडेलले पनि सरकारी सुरक्षा मजबुत भएको खण्डमा कार्यक्रम क्रेजीमय हुने र नेपाली दर्शकले उत्साहजनक रूपमा सहयोग गर्ने बिचार ब्यक्त गरे । यस्तै सुरक्षाको बिषयमा प्रश्न उठेपछी महानगरीय प्रहरी प्रमुख पूर्णसिहं बस्नेतले सिनेमा टुरिजमका लागि नेपालमा आउने हरेक सिनेकर्मीलाई पूर्ण सुरक्षा दिने प्रबिद्धता गरे । अध्यागमन विभागका प्रमुख सुधिर शाहले पनि एयरपोर्टबाट देखिनै कलाकारहरूको सुरक्षा प्रति आफू कुनै कन्जुसाई नगर्ने बताए । नेपालको सवैभन्दा धेरै पर्यटक भारतीय नागरिक रहेको औलाउदै पर्यटक भित्रएको तथ्य केलाउदै पर्यटन बर्ष २०११ का संयोजक योगेन्द्र श्रेष्ठले सिनेमा टुरिजम प्रति चालिएको यो कदमले नेपाल विश्वमाझ चिनाउन सफल हुने धारणा ब्यक्त गरे ।
सलमान खान लगायतका कलाकार आउने सम्बन्धमा आयोजित उक्त कार्यक्रममा साईबाबा टेलिफिल्मसले पहिलो प्रस्ताव स्वरूप बोर्ड समक्ष उक्त प्रपोजल पेश गरेको हो । जस अनुरूप कार्यक्रम मिति सम्म कलाकार थपघट हुने सम्भावना प्रवल छ । विगतमा ऋतिक रोशन, माधुरी दिक्षित तथा धर्मेन्द्रले नेपालीको आत्मसम्मानमा ठेस पुग्ने प्रकृतिका कन्ट्रोभर्सीयल भनाई बलिउडका कलाकारहरूबाट नबोलियोस् र त्यस बिषयमा अग्रिम जानकारी सम्बन्धीत कलाकारलाई गराईयोस् भन्ने बिषयमा मिडियाको तर्फबाट सुझाव दिईएको थियो ।
तस्विरहरू : राजन काफ्ले