गिनिज बुक अफ द वर्ल्ड रेकर्डमा दर्ता हुन सफल मुन्नी बदनाम हुइकी गायिका ममता शर्माले नेपाली चलचित्रका लागि पनि त्यस्तै प्रकृतिको गीत गाएकी छिन् ।
गत शनिबार बलिउड धुम नामक कार्यक्रममा आफ्नो प्रस्तुती राख्न केही भारतीय कलाकारहरूको साथमा नेपाल आएकी गायिका शर्माले सूर्य कार्कीको अनटाईटल प्रोजेक्टका लागि एक गीत गाएकी हुन् । उनका गीतमा अर्जुन पोखरेलले संगीत भर्ने मौका पाएका छन् । 'कोही मलाई हिरा भन्छन् कोही भन्छन् मोती, बिक्रिमा छ यौवन मेरो किन्ने कोही छौ कि ?' बोलको उक्त गीतलाई करिब दुई घण्टा लगाएर उनले रेकर्ड गरेको संगीतकार पोखरेलले जानकारी दिए । पोखरेलका अनुसार कर्न्सट भएको राति ११ बजे ममता श्रीमान् अर्सफको साथमा पुतलीसडकको साइन डिजीटल स्टूडियो पुगेकी थिईन् ।
ममतालाई संगीतकार पोखरेल सहितको एक टोलीले कर्न्सट भएको बेला ब्याकस्टेजमा गएर गीत रेकर्डका लागि प्रस्ताव गरेको थियो जुन उनले केही बेरको छलफल पछी स्वीकारेकी थिईन् । यस्तै संगीतकार पोखरेलका अनुसार सुरूमा ममताले ३५ हजार मागेकी थिईन् तर अन्य भारतीय गायक- गायिकाले समेत नेपाली मार्केट हेरेर २० हजार लिईरहेको जानकारी गराए पछी उनले गीत रेकर्ड गर्ने सहमति गरेकी हुन् ।
निर्माणाधिन चलचित्र मेरो जीवन साथीका प्रोड्यूसर समेत रहेका सूर्य कार्कीको शब्द रहेको उक्त गीतमा राजन इशानको एरेन्ज रहेको छ । गीत रेकर्ड गरे पश्चात ममताले उक्त गीतको टोन आफूलाई मन परेको भन्दै त्यसलाई हिन्दीमा समेत रूपान्तर गरी पुनः रेकर्ड गर्ने इच्छा ब्यक्त गरेको पोखरेलले बताए । उनले भने, 'मैले विश्वास गरेको थिईन उहाँले एकै बचनमा गीत गाउन राजी हुनुहुन्छ भनेर । संसारले चिनेकी गायिकाको स्वरमा संगीत भर्न पाउनु मेरा लागि पनि खुशीको कुरा हो ।'पोखरेल पछिल्लो समय उदाएका सफल संगीतकारको पक्तिमा गनिन थालेका छन् । प्रतिक्षा गरौ आफ्नो संगीतमा मुन्नीको यौवन बेच्ने प्रयास गरेका पोखरेलले उक्त गीतबाट कत्तिको सफलता पाउछन् ?

