
हिमाल एशोसिएशनको आयोजनामा गत बिहिबार देखि सुरू भएको नवौँ संस्करणको काठमाण्डू इन्टरनेश्नल माउन्टेन फिल्म फेस्टिवल (किम्फ) मा अमेरिकाको चलचित्र समर पास्चर सर्वोत्कृष्ट ठहरिएको छ ।
फिनल्याण्डका हलेन मलोनेन, बेलायतका जोन इनरडेल र नेपालका सञ्जिव उप्रेतीको जुरीले तिब्बती कथामा आधारित उक्त चलचित्रलाई सर्वोत्कृष्ट ठहर गरेको हो । उत्कृष्ट भएको उक्त चलचित्रलाई पन्ध्र हजार अमेरिकी डलर र ट्रफी पुरस्कार स्वरूप दिईएको छ । यस्तै महोत्सवमा लतभियाको 'फ्यामिली इन्सटिंक्ट' ले दोस्रो हुदै १ हजार डलर जित्न सफल भएको छ भने फ्रान्सको 'वियोण्ड द समिटस' ले तेस्रो हुदै ५ सय डलर प्राप्त गरेको छ ।
उल्लेखीय दर्शकको उपस्थितिमा पाँच सम्म चलेको महोत्सवको अर्न्तराष्ट्रिय प्रतिष्पर्धा अर्न्तगत भिडेका १७ मध्ये उक्त तीन चलचित्र जुरीहरूको नजरमा परेका हुन् । यस्तै महोत्सवमा नेपाली प्यानोरोमा अर्न्तगत प्रतिष्पर्धामा रहेका ६ वटा चलचित्र मध्ये 'द डेजर्ट्स इट अस ' उत्कृष्ट ठहरिएको छ । उक्त चलचित्रलाई चलचित्र विकास बोर्डको तर्फबाट अध्यक्ष गणेश भण्डारीले नगद पच्चिस हजार पुरस्कार प्रदान गरेका थिए । 

यस्तै दीपेन्द्र भण्डारीको 'जर्नि टू यार्सा' ले पब्लिक च्वाईस अवार्ड पाएको छ । रूकुमका बासिन्दाहरूको यार्सागुम्बा संकलन जिन्दगीका बिषयमा तयार गरिएको उक्त चलचित्रले पब्लिक च्वाईस अवार्ड पाएपछी निर्देशक भण्डारीले भने, 'राम्रा चिजलाई दर्शकले साच्चिकै न्याय गर्दा रहेछन् त्यसैले यो अवार्ड ती रूकुमा जनता प्रति म समर्पित गर्दछु ।' दीपेन्द्रलाई उक्त अवार्ड चलचित्र निर्देशक समाजका अध्यक्ष केपी पाठकले प्रदान गरेका थिए ।
यस्तै किम्फमा अध्यक्ष बसन्त थापाले नेपाल सरकार निहितका संघसस्थाले महोत्सव सफल पार्न पर्याप्त सहयोग नगरिरहेको अवस्थामा महोत्सव उत्साहजनक र क्वालिटी यूक्त रहेको बताए । यस्तै उनले आउदो बर्षको डिसेम्बर ६ तारिख अर्न्तराष्ट्रिय पर्वतीय दिवसको अबसर पारेर पाँच दिन सम्म दशौ संस्करणको महोत्सवको तयारीमा भोली देखि लाग्ने जानकारी दिए ।