
पर्वतिय बिषयलाई आधार बनाई निर्माण गरिएका चलचित्रहरूको महोत्सव आजबाट सुरू भएको छ । पाँच दिन सम्म जारी रहने काठमाण्डू इन्टरनेश्नल माउन्टेन फिल्म फेस्टिवलमा २२ देशका डकुमेन्टी, सर्ट एनिमेशन तथा फिक्सन गरी ५२ वटा फिल्म समावेश छन् ।
काठमाण्डूको भृकुटीमण्डप स्थित राष्ट्रिय सभा गृह र टूरिजम बोर्डमा सुरू महोत्सवलाई विश्वका ८ हजार माथि रहेका १४ वटा चर्चित हिमाल सफल आरोहण गरिसकेका पर्वतारोही मिङ्गमा शेर्पाले उद्घाटन गरेका थिए । उदघाटनका क्रममा उनले हिमालका बिषयमा जति पनि फिल्म बन्न सक्ने बिषय आफूले देखेको बताए । यस्तै आयोजकका तर्फबाट हिमाल एसोसिएशनका अध्यक्ष बसन्त थापाले श्रब्य दृश्यको यो फेस्टिवलले पर्यटकीय विकासलाई टेवा पुर्याउन सहयोग गर्ने भन्दै महोत्सवलाई सफल र बृहत पार्नका लागि सहयोगी भावना हुनु पर्ने बताए ।
महोत्सवमा सहभागी ५२ चलचित्र मध्ये अर्न्तराष्ट्रिय प्रतिष्पर्धामा १७ वटा, अप्रतिस्पर्धी समूहमा २१ र नेपाल प्यानोरममा अर्न्तगत ६ वटा चलचित्र प्रदर्शन गरिने छ । यस्तै यूरोपको सवैभन्दा ठूलो मानिने फिनल्याण्डको ताम्पेरे फिल्म फेस्टिवलमा देखाईका उत्कृष्ट ६ वटा फिल्मलाई पनि स्क्रिनिङ गरिने छ । त्यस्तै सन् १९५० को दशकको नेपाली संगीत र नृत्यसम्बन्धी टोनी हेगनद्धारा निर्मित फिल्म कल्चरल भिन्यात्स अफ नेपाल र मानवअधिकार उच्चायुक्तको कार्यालयको फिल्म भ्वाईस फर जस्टिस पनि महोत्सवका मुख्य आकर्षक फिल्म हुन् ।
हिमाल एसोसिएसनको आयोजनामा विगत १० बर्षदेखि हुदै आएको किम्फको यो नवौँ श्रृङखला हो । महोत्सवमा इसिएस मिडियाले नेपाली संस्कृतिका विविध कलात्म पक्ष झल्काउने फोटोहरूको प्रदर्शनी पनि गरिएको छ । पाँच दिने महोत्सवमा बेलायती निर्देशक मुरे केरले चलचित्र निर्माणमा चासो देखाउनेहरूका लागि पटकथा लेखन कार्यशाला गर्ने छन् भने डेनमार्कका चलचित्रकर्मी टोस्टेन भासले चलचित्र वितरण तथा बजार प्रवद्धर्न शिर्षकमा दर्शकहरूसंग छलफल गर्नेछन् । फिनल्याण्डका अर्का चलचित्रकर्मी युहो कस्माननले स्थानिय फिल्म र कला प्रबर्धनमा फिल्म महोत्सवको महत्व बारे प्रवचन दिने छन् भने कुन्द दिक्षितले हिमाल चिनौ नाम प्रश्नोत्तर कार्यक्रम सञ्चालनको जिम्मा पाएका छन् ।
फिनल्याण्डका हलेन मलोनेन, बेलायतका जोन इनरडेल र नेपालबाट सञ्जिव उप्रेतीलाई महोत्वसवको जुरी बनाईएको छ । उत्कृष्ट तीन फिल्मलाई क्रमश १५ हजार, १ हजार र ५ सय अमेरिकी डलरको साथमा ट्रफी पुरस्कार दिईने छ । यस्तै नेपाल प्यानोरोमा अर्न्तगत चलचित्र बिकासबोर्डको तर्फबाट उत्कृष्ट फिल्मलाई नगद रू २५ हजार प्रदान गरिनेछ ।