
काठमाडौं बाहिरका करिब ३ दर्जन सिनेमा हलमा गत शुक्रबारबाट नै प्रदर्शनमा आएको चलचित्र 'पर्खिराख है' भोली शुक्रबारबाट राजधानिका एक दर्जन भन्दा बढि सिनेमा घरमा लाग्दैछ ।
दिया फिल्म्सको ब्यानरमा निर्माण भएको यो चलचित्रको निर्देशन बाबुराम ढकालले गरेका हुन् । मुकेश ढकाल, दिल श्रेष्ठ, सञ्चिता लुइँटेल, मेलिना मानन्धर, निस्तेज निरौला, सूरवीर पण्डित, मिथिला शर्मा आदि कलाकारले यो चलचित्रमा अभिनय गरेका छन् । चलचित्रको मुख्य कथा नायिका सञ्चिता लुइटेल तथा यही चलचित्रबाट डेब्यु गरेका नायक दिल श्रेष्ठको वरिपरि घुमेको छ । चलचित्रमा उनीहरू दाजु-बहिनीको भूमिकामा छन् ।
मुकेश ढकाल र मेलिना मानन्धरको अफस्क्रिन जोडिलाई भने यो चलचित्रमा जोडिको रूपमा देख्न पाईने छैन । मुकेशलाई सञ्चिताको जोडी बनाइएको छ भने मेलिनाले दिलको साथ पाएकी छिन् । निर्देशक ढकालका साथ अच्युत घिमिरेको कथा पटकथा र संवाद रहेको चलचित्र प्रेम रोमान्स र मानवीय संवेदनाका विषयमा केन्द्रित छ ।
चलचित्रमा हिमाल केसीको द्वन्द निर्देशन छ भने वसन्त श्रेष्ठ, कविराज तथा शिव शर्माको नृत्य निर्देशन छ । सुरेश अधिकारीद्वारा संगीतबद्ध यो चलचित्रका ५ वटा गीतमा राजेशपायल राई, अञ्जु पन्त, उदितनारायण झा, सञ्जीवनी, मञ्जिरा आदि गायक-गायिकाको स्वर सुन्न सकिने छ । चलचित्रमा एउटा तिहार विशेष गीतको साथमा स्व. झलकमान गन्धर्वको पुरानो गीत 'यो नानीको सिरैमा इन्द्र कमल फुल फुल्यो...' लाई रिमिक्स भर्सनमा प्रस्तुत गरिको छ । जुन गीतलाई डिजे एलएक्सले रिमिक्स गरेका हुन् ।