
विगत आठ बर्ष देखि नातिकाजी स्मृति समाजको आयोजनामा प्रत्येक बर्ष हुदै आएको नातिकाजी स्मृति सम्मान तथा पुरस्कार वितरण समारोहमा यसपालि स्वर्गीय नातिकाजीले नेपाली चलचित्रमा संगीत भरेका सवै गीतलाई एक साथ भब्य प्रिमियर गरिने भएको छ ।
स्मृति समाजको अध्यक्ष समेत रहेका संगीतकार शम्भुजीत बास्कोटाले फिल्मीखबरलाई जानकारी दिदै आगामी पौष ३ गते भब्य कार्यक्रम गर्दै नातिकाजीद्धारा संगीतबद्ध करिब आधा दर्जन चलचित्रका गीतहरूलाई प्रदर्शन गरिदैछ । नातिकाजीले पच्चिस बसन्त, शान्तिदीप, सिन्दुर, मनको बाँध, चेलीबेटी जस्ता चलचित्रमा संगीत दिएका थिए । जसमध्ये मनको बाँधमा उनले संगीत भरेको 'फूलको थुङ्गा बगेर गयो गंगाको पानीमा कहिले पो भेट होला ए राजै यो जिन्दगानीमा...' भन्ने गीत अझै कालजयी छ ।
यस्तै कार्यक्रममा विगतका बर्षहरुमा झै यो बर्ष पनि आठ संगीतकर्मी मध्ये चार जनालाई नातिकाजी स्मृति सम्मानले बिशेष सम्मान गरिने छ र बाकी चारलाई नगद पुरस्कार सहितले सम्मान गरिने भएको छ । पुरस्कृत हुनेहरू तर्फ संगीतकार प्रकाश गुरूङ, भैरवनाथ रिमाल 'कदम', ज्ञानु राणा र ओमविक्रम विष्ट रहेका छन् । यसैगरी सम्मान तर्फ राष्ट्रकवि माधव प्रसाद घिमिरे, अम्बर गुरूङ, दुर्गालाल श्रेष्ठ र शुभबहादुर सुनाम रहेका छन् ।
नातिकाजीको जन्मदिनलाई आधार मानेर हरेक बर्ष पौष तीन गते हुदै आएको सम्मान तथा पुरस्कार समारोहमा यस पटक संगीत बिधाका उच्च ब्यक्तिहरूको बाहुलीबाट नातिकाजी स्मृति समाजको अफिसियल वेवसाईट पनि लन्च गर्ने तयारी गरिएको संगीतकार बास्कोटाले जानकारी दिए ।