
दुई बर्ष अघि प्रशन्न पौडेलले निर्देशन गरेको एक म्यूजिक भिडियोबाट करिअर सुरू गरेकी मोडल तथा नायिका अनुष्का ढकालले अभियनको क्षेत्रबाट सदाका लागि सन्यास घोषणा गरेकी छिन् ।
आफू अभिनित पछिल्लो चलचित्र प्लानको डविङ सके लगत्तै बुधवार फिल्मीखबरसंग कुरा गर्दै उनले भनिन्, 'अव यो फिल्डमा टच नै हुन मन छैन । मिहिनेत अनुसारको पारिश्रमिक पनि छैन त्यसैले फ्यूचरका लागि टाईम वेष्ट गर्नु भन्दा पढाई तिर ध्यान दिने निर्णय गरेको छु ।' यस्तै आफुलाई परिवारले पनि अभिनयमा नलाग्न पटक-पटक गरेको आग्रहलाई अहिले आएर बुझेको भन्दै अनुष्काले परिवारको निर्देशन अनुरूप आगामी भविष्य कस्तो बनाउने निर्णय गरेको बताईन् ।
उनले सर्वप्रथम दीपक श्रेष्ठको निर्देशनमा बनेको चलचित्र मजबुरमा ब्रेक पाएकी थिईन् । त्यसपछी उनले सन्त्रास चलचित्रमा अभिनय गरिन् र तत्काल शोभित बस्नेतले निर्देशन गरेको चलचित्र प्लानमा अभिनय गरेपछी उनले यो क्षेत्रबाट सन्यास घोषणा गरेकी हुन् । उनि अभिनित उक्त तिनै चलचित्र रिलिजको लिष्टमा छन् ।
यस्तै अनुष्काले करिब तीन दर्जन म्यूजिक भिडियोमा र केही विज्ञापनमा पनि अभिनय गरेकी छिन् । तर बचन दिईसकेकाले एक म्यूजिक भिडियोमा भने आगामी शनिबार अन्तिम अभिनय गर्ने उनले जानकारी दिईन् । 'त्यसपछी मलाई यो क्षेत्रमा तपाईहरूले देख्न पाउनु हुने छैन', फ्रष्टेड मुद्रामा उनले भनिन् ।
केही दिन अघि अभिनेत्री मनीषा कोईरालाले पनि फिल्मीखबर समक्ष अभिनयबाट टाढा रहने र चरित्रमा दाग लाग्ने गरी एक पत्रिकाले समाचार छापिदिए पछी अर्की नवनायिका सुमिना घिमिरेले पनि चलचित्र क्षेत्र छाड्ने मनस्तिथि बनाएको खबर प्रकाशमा आएको थियो ।