झट्ट सुन्दा शिर्षक नकारात्मक नै लाग्छ तर चलचित्र प्राविधिक संघले पाँचौ पटक आयोजना गर्न लागेको टिटिभि नेफ्टा अवार्डको यसै संस्करण देखि आगामी हुने कुनै पनि नेफ्टा अवार्डमा महानायक राजेश हमाललाई सहभागी नगराउने निर्णय गरेको छ ।
अवार्डको जुरीहरुको प्रस्तावमा हमाल प्रति सम्मान जनाउने उद्देश्यले उनी प्रतिष्पर्धाका पात्र नभई सिङ्गो चलचित्र उद्योगको ईज्जत भएको भन्दै प्राविधिक संघले उनलाई आफ्ना अवार्ड कार्यक्रममा अन्य कलाकारसंग प्रतिष्पर्धीको रुपमा नराख्ने निर्णय गरेको हो । जुन कुराबाट महानायक पनि निकै खुशी भएका छन् ।
आगामी पौष महिनामा हुन लागेको नेफ्टा अवार्डका लागि आज सार्वजनिक गरिएको टप फाईभ नोमिनेशन सार्वजनिक कार्यक्रममा हमालले २२ बर्षदेखि निरन्तर रुपमा चलचित्र उधोग प्रति पुर्याएको योगदान र हाल सम्मको सक्रियतालाई उच्च मूल्याकंन गर्दै संघले उनलाई प्रतिष्पर्धी कलाकारको रुपमा नहेर्दै सो सम्मान ब्यक्त गरेको हो ।
हमालका समकालिन अभिनेताहरुको सक्रियता नहुनु र नयाँ कलाकारहरुसंग उनले प्रतिष्पर्धा गर्दा नेपालमा भैरहने विभिन्न अवार्ड कार्यक्रममा यो प्रसङ्ग बहस योग्य पनि बनेको थियो । जुन बहसलाई प्राविधिक संघले सम्भवत अन्त्य गर्ने प्रयास स्वरुप उनलाई प्रतिष्पर्धीको रुपमा आगामी आफ्ना अवार्ड कार्यक्रममा नराख्ने निर्णय गरेको हो । जुन निर्णयलाई हमालले पनि मूक्त कण्ठले प्रशंशा गर्दै स्वागत गरेको बताए । उनले भने, 'मैले पनि पछिल्लो केही बर्ष देखि यहि कुरा होस भन्ने सोचिरहेको थिए तर कसैलाई भन्ने आँट आएन तर प्राविधिक संघले मेरो मनको कुरा बुझेकोमा धन्यवाद ।'

३४ बिधाका लागि ४७ वटा फिल्म प्रतिष्पर्धामा रहेको उक्त अवार्डमा उत्कृष्ट चलचित्रको प्रतिष्पर्धामा 'बाटो मुनिको फूल', 'ब्याच नम्बर १६', 'दासढुङ्गा ', 'कसले चोर्यो मेरो मन' र 'रणसंग्राम' छन् । अवार्डको जुरीहरुमा सञ्चारकर्मीद्धय भरत शाक्य, विजय रत्न तुलाधार, बरिष्ठ छायाँकार जावेद शाह , कलाकार प्रभाकर देव शर्मा र निश्चल श्रेष्ठ रहेका छन् ।
कार्यक्रममा नवगठित चलचित्र प्राविधिक संघको नयाँ कार्यसमितिले पाँच बुदे अवधारणा पत्र पनि सार्वजनिक गरेको छ । अवधारणा पत्रमा चलचित्र विकास बोर्डले यस बर्ष देखि असोज १ गते लाई चलचित्र दिवसको रुपमा मनाउने निर्णयलाई स्वागत जनाउदै आगामी दिनमा हुने उक्त दिवसका दिन सवै प्राविधिकहरु सहभागी हने चलचित्र र चलचित्रसंग सम्बन्धीत सम्पूर्ण कार्य कुनै पनि गैर प्राविधिकले गर्ने कार्यलाई पूर्ण रुपमा रोक लगाईने तथा प्राविधिकहरुको हकहितको लागि नियमावली तयार गर्ने लगायत छन् ।
कार्यक्रममा बोल्दै चलचित्र प्राविधिक संघका अध्यक्ष सन्तु तामाङले भाष्यिमा अझ उत्कृष्ट ढङ्गले यो अवार्डलाई निरन्तरता दिईने बताए । यसैगरी चलचित्र विकास बोर्डका अध्यक्ष गणेश भण्डारीले नेफ्टा अवार्ड स्थापित होस भन्ने शुभकामना ब्यक्त गर्दै छिट्टै नै चलचित्र बिकास बोर्डले पनि चलचित्रकर्मीहरुलाई सम्मान प्रदान गर्ने उद्देश्यले ठूलो धनराशीको पुरस्कार घोषणा गर्ने कार्य अन्तिम चरणमा पुगेको जानकारी दिए । उनले भने, 'बर्षमा चार चलचित्रकर्मीलाई ४ लाखका दरले पुरस्कार दिईने बोर्डको योजना छ ।' जुन कोष स्थापनाका लागि अर्थमन्त्री बर्षमान पुनः अनन्तले बोर्डलाई एक करोड दिने मौखिक बचन केही दिन अघि दिएका थिए ।
मनोनयनको उत्कृष्ट पाँचमा परेका अन्य बिधा र त्यससंग सम्बन्धीत चलचित्रकर्मीको पूर्ण विवरण तल राखिएको छ ।

