
चौथो एकल अर्न्तराष्ट्रिय नाटक मंचनका लागि बिजया दशमीको भोलीपल्ट जर्मनी उडेका हिरो सुवास थापा आज साँझ नेपाल फर्किएका छन् । कमेडी फिल्म 'ब्रेकफेल' बाट ज्यादा चर्चा पाएका हिरो सुवासले बर्लिनको रंगमंचमा पाँच शो गर्न भ्याएका थिए ।
तीन शोका लागि जर्मनी गए पनि पाँच शो मंचन गरि उनी बाईस दिनका दिन आज नेपाल आईपुगेका हुन् । सुवासले 'मृत्यु सम्बाद' नाटकमा आफ्नो प्रस्तुती जर्मनबासी नागरिक समक्ष देखाएका थिए । उनी चलचित्र 'किन किन' को सुटिङलाई ब्रेक गरि नाटक मंचनका लागि जर्मनी प्रस्थान गरेका थिए । किन किन चलचित्रलाई उकेश दाहालले निर्देशन गरिरहेका छन् । तर फिल्म भित्रका दुई हिरो सुवास र राजेश हमाल लामो भ्याकेशन लिदै विदेश गएपछि उकेशले फिल्मको क्लाईमेक्सलाई खिच्न पाएका छैनन् ।
यस्तै राजेश हमाल पनि एक महिने अमेरिकी भ्रमण सकी मंगलबार सम्ममा नेपाल फर्किने बताईएको छ । यस्तै बाईस दिने यूरोप भ्रमणका क्रममा सुवासले नेपाली चलचित्रको अर्न्तराष्टिय प्रदर्शनका बारेमा पनि बुझेका बताएका छन् । जस अनुरूप छिट्टै आफ्नो सक्रियतामा उच्चकोटीका नेपाली फिल्मको प्रदर्शन युरोपका बिभिन्न देशमा गर्ने उनको योजना रहेको छ ।