
नेपालका चलचित्रकर्मीहरू क्यालेन्डरमा रातो मसिले पोतेको देख्न हुन्न चलचित्र रिलिज डेट फिक्स गरिहल्छन् । बिशेष गरी ठूला चाडहरूमा त चलचित्रकर्मीहरू एकआपसमा भिडन्त गर्न थाल्छन् । सदाको बर्षमा झैं यस बर्ष पनि दशैंको छेकोमा तीन ठूला व्यानरका चलचित्र भिड्ने भएका छन् ।
बिकास आचार्य निर्देशित चलचित्र 'म तिम्रो भईसकें' असोज १३ गतेबाट मोफसलका प्रमुख सिनेमा घरमा लाग्दैछ भने उज्वल घिमिरे निर्देशित चलचित्र 'अन्दाज' १६ गते मोफसलका सिनेमा घरमा र २० गते राजधानीका सिनेमा घरमा लाग्दैछ । यसैगरी सुदर्शन थापा निर्देशित चलचित्र 'मेरो लभ स्टोरी' पनि १६ गते मोफसलका सिनेमा घरमा र २० गते राजधानीका सिनेमा घरमा लाग्दैछ । दशैंको छेकोमा रिलिज हुन लागेको यि तीनै चलचित्र बिग व्यानरमा हुन् ।
लगानीका हिसाबले लगभग उस्तै मानिएका यि तीनै चलचित्रको बारेमा अहिले चलचित्र क्षेत्रमा कस्ले बाजि मार्ला भन्ने बहस चल्न थालेको छ । यस अघि 'नाइ नभन्नु ल' जस्तो सफल चलचित्र दिईसकेका बिकास आचार्यको 'म तिम्रो भईसकें' का गीतहरू नाइ नभन्नु ल जत्तिकै चर्चामा छन् । यस चलचित्रले मोफसलका राम्रा हल पाएको छ भने मोफसलमा सबैभन्दा बढि चर्चामा यहि चलचित्र रहेको बुझिएको छ । निर्देशक आचार्य पनि नाइ नभन्नु ल भन्दा राम्रो चलचित्र बनाएकोले सफल हुनेमा ढुक्क छन् । चलचित्रमा जीवन लुईटेल, ऋचा सिंह ठकुरी, अयुब केसी र बिज्ञान सापकोटाको मुख्य भुमिका रहेको छ ।
यस्तै मेकिङका हिसाबले राम्रा मानिने निर्देशक उज्वल घिमिरे निर्देशित चलचित्र 'अन्दाज' ले पनि आफ्नै बिशेषता बोकेको छ । चलचित्रका गीतसंगीत देखि प्रोमोहरू रूचाईएको सो चलचित्र राम्रै बनेको हुनुपर्ने समिक्षकहरूको अनुमान छ । नायिका रेखा थापाको अभिनयका साथमा छबि ओझा, अशोक शर्मा र उज्वल घिमिरेले निर्माण गरेको सो चलचित्र कस्तो बनेको छ त्यो त रिलिज भएपछि थाहा होला तर पनि पूर्वअनुमान सफल हुने आश गरिएको छ । चलचित्र अन्दाजमा रेखाका अलावा जीवन लुईटेल र सबिन श्रेष्ठको मुख्य भुमिका रहेको छ ।
यता 'मेरो एउटा साथी' र 'के यो माया हो' जस्तो चलचित्र निर्देशन गरेका निर्देशक सुदर्शन थापाको चलचित्र 'मेरो लभ स्टोरी' लाई पनि दर्शकले रूचाउन सक्ने सम्भावना देखिएको चलचित्रकर्मी बताउँछन् । 'के यो माया हो' व्यापारिक रूपमा सफल हुन नसके पनि सुदर्शनको यो चलचित्रलाई युवावर्गले रूचाउने अनुमान लगाईएको छ । सुरज आचार्यले निर्माण गरेको यस चलचित्रमा आर्यन सिग्देल, ऋचा शर्मा र बिनय श्रेष्ठको मुख्य भुमिका रहेको छ ।
चलचित्रकर्मीहरू त तीनै चलचित्र सफल हुनेमा बिश्वस्त छन् तर दर्शकले भने कुन चलचित्रलाई रूचाउने हुन् त्यो हेर्न बाँकी नै छ । आशा गरौं व्यापारिक हिसाबले निराश देखिएको चलचित्र उधोगलाई यि चलचित्रको व्यापारले निर्माता सहित उधोगको मुहारमा चमक ल्याउने छ ।