
गत बर्षको सफल चलचित्र 'नाइ नभन्नु ल' का निर्माता रमेश जंग रायमाझीले निर्माण गरेको दोस्रो चलचित्र 'मलाई मन पर्यो' आगामी मंसिर २ गतेबाट देशभरका सिनेमा घरमा प्रदर्शन हुने पक्का भएको छ । चलचित्रको बितरण गर्ने जिम्मा सुनिल मानन्धरलाई दिएपछि सुनिलले मंसिर २ गतेको मिती तय गरेका हुन् ।
प्रेम कथामा आधारित यस चलचित्रलाई भद्र भुजेलले निर्देशन गरेका हुन् । थुप्रै चलचित्रमा सहायक निर्देशक भएर अनुभव बटुलेका निर्देशक भुजेलको यो डेब्यू चलचित्र हो । निर्देशक भुजेलले चर्चित निर्देशक शिब रेग्मीको अधिकांश चलचित्रमा सहायक भएर काम गरेका छन् । चलचित्रमा निरूता सिंह, जीवन लुईटेल, राजबल्लभ कोईराला, मिथिला शर्मा, सुष्मा कार्की, विजय देउजाको साथमा बालकलाकार साल्भिका रायमाझी र रुजन फुँयालको मुख्य भुमिका रहेको छ ।
शम्भुजित बाँस्कोटाको संगीत रहेको चलचित्र 'मलाई मन पर्यो' मा बिकाश आचार्यको लेखन, शम्भु सापकोटाको छायाँकन, हिमाल केसीको द्धन्द्ध, बसन्त श्रेष्ठ, कविराज र शंकर बिसीको नृत्यनिर्देशन रहेको छ । चलचित्रमा पाँच गीत समावेश गरिएको छ । जुन गीतहरू अहिले एफएमहरूमा घन्किरहेका छन् ।