
चलचित्र विकास बोर्डले विशेष चलचित्रको मान्यता दिएको रामशरण पाठक निर्देशित चलचित्र 'ठेगाना' भोली शुक्रबारबाट राजधानीका सिनेमा घरमा लाग्दैछ । चलचित्रको रिजिल पूर्व बिहान ११ बजे बालाजु स्थित अष्ठनारयण हलमा 'स्पेसल शो' को आयोजना गरिंदै छ ।
सिम्रन फिल्म्सको व्यानरमा निर्माण भएको चलचित्र 'ठेगाना' को बिशेष प्रदर्शनीमा थुप्रै चलचित्रकर्मी तथा सञ्चारकर्मीहरूलाई निमन्त्रणा गरिएको निर्माण युनिटले जनाएको छ । उत्तम खत्री, सुरज श्रेष्ठ, दिनेश श्रेष्ठ र मनोहर गौतमले संयुक्त रूपमा लगानी गरेको सो चलचित्रमा अयुव केसी, अनु शाह, सुशिल पोखरेल, मिथिला शर्मा, गणेश उप्रेती, राजाराम पौडेल लगायतले अभिनय गरेका छन् ।
भाद्र २८ गते हुन लागेको सिजी डिटिजल सिनेमा अवार्डमा १५ बिधामा मनोनित हुन सफल सो चलचित्रमा जुगल डंगोलको संगीत, सुमन तण्डुकारको छायाँकन, गोविन्द प्रभातको नृत्य निर्देशन, राजु भण्डारीको सम्पादन तथा रामशरण पाठकको कथा रहेको छ । बेचिएकी चेलीको कथामा आधारित सो चलचित्र मोफसलमा भने केहि समय पछि रिलिज हुनेछ ।
यसैगरी केहि समय अगाडी निधन भएका स्वर्गिय राजुध्वज राणाले निर्देशन गरेको चलचित्र 'चम्पा चमेली' पनि शुक्रबारबाट राजधानी र राजधानी बाहिरका सिनेमा घरमा लाग्दै छ । राजेश हमाल, रेजिना उप्रेती, सोभिता सिंखडा, विद्या कार्की, मिरा बखती, रोहित तामाङ लगायतले अभिनय गरेका छन् । गौतम मानन्धर र नारायण मैनालीले निर्माण गरेको सो चलचित्र गाउँले परिवेशको कथामा आधारित छ ।
दिदी बहिनीको कथामा आधारित रहेर निर्माण गरिएको सो चलचित्रमा नायिकाले फरिया र चोली लगाएर द्वन्द गरेको देख्न सकिने छ । नायक राजेश हमाल भने अन्याय अत्याचारको बिरूद्वमा आवाज उठाउने युवकको भुमिकामा देखा परेका छन् । चलचित्रमा हरी लम्सालको संगीत रहेको छ ।