सबै मिल्ने केटाकेटी व्वायफ्रेण्ड र गर्ल फ्रेण्ड हुँदैनन् । उनीहरू असल साथी मात्र पनि हुनसक्छन् भन्ने मूल भाव बोकेर निर्माण गरिएको चलचित्र 'के म तिम्रो साथी बन्न सक्छु' को हाल सम्पादन कार्य भईरहेको छ । महाराजगञ्ज स्थित रेड स्टुडियोमा बनिश शाहले चलचित्रको काटछाँट गरिरहेका छन् ।
.jpg)
रेड क्यामेराले छायाँकन गरिएको सो चलचित्रको सम्पूर्ण प्राबिधिक कार्य रेड स्टुडियोमा नै गरिने भएको छ । चलचित्रको सम्पादन भईरहँदा निर्माण युनिटले फिल्मीखबर डटकमबाट पहिलो पटक औपचारिक रूपमा केहि तस्विर र पोस्टर सार्वजनिक गरेको छ । चलचित्रको रिलिज डेट टुंगो लागि नसकेको भए पनि प्रचारप्रसार भने बिस्तारै गर्दै जाने निर्माण युनिटको भनाई छ ।
.jpg)
केपी फिल्म्सको व्यानरमा कृषा चौलागाईंले निर्माण गरेको सो चलचित्रको निर्देशन सबिर श्रेष्ठले गरेका हुन् । चलचित्रमा आर्यन सिक्देल, दिप्ती गिरी, शिशिर राणा, दिनेश डिसी, दिनेश थापा, संदिप सापकोटा, धिरेन शाक्य, कमला रेग्मी, रमेश थापा, टार्जन लगायतले अभिनय गरेका छन् । यस चलचित्रबाट नायिकाको रूपमा दिप्ती गिरीले डेब्यू गरेकी हुन् । चलचित्रमा शिब ढकालको छायाँकन, समन अधिकारीको नृत्य, दिनेश सुनामको संगीत, प्रमोद ढुंगानाको गीत रहेको छ भने चलचित्रको कथा शिबम् अधिकारीले लेखेका हुन् ।

चलचित्र निर्माणमा कुनै कम्प्रमाइज नगरेको बताउँदै निर्माता चौलागाईंले आफ्नो चलचित्रको रिलिज बिदेशबाट शुरू गर्ने योजना बनाएको बताईन् । उनले भनिन्, 'चलचित्र राम्रो बनाएका छौं त्यसैले राम्रो चलचित्रको रिलिज बिदेशबाट नै गरौं भन्ने हाम्रो योजना हो ।' केहि देशहरूबाट रिलिजका लागि प्रस्ताव आएको भए पनि अझै टुंगो लागि नसकेको बताउँदै निर्माता चौलागाईंले छिट्टै नै रिलिजको टुंगो लगाउने बताईन् ।

आफ्नो महत्वाकांक्षी चलचित्र बताउने यि निर्माताले चलचित्र हरेक पक्षबाट सबल रहेको दाबी गरिन् । यता चलचित्रका निर्देशक श्रेष्ठले पनि आफ्नो बिगतको चलचित्र भन्दा राम्रो बनाउने कोसिस गरेको बताए । रेड स्टुडियोमा भेटिएका निर्देशक श्रेष्ठले फिल्मीखबरसँग गफिदै भने, 'जसरी मैले कस्ले चोर्यो मेरो मन' बाट प्रशंसा पाएँ त्यसैगरी नै यस चलचित्रबाट पनि प्रशंसा पाउछु भन्ने आश गरेको छु ।' कलाकार देखि लिएर हरेक पक्षबाट चलचित्र राम्रो बनेको उनको दाबी छ ।


