
मानिसहरू जम्मा हुने सबैभन्दा ठूलो हल भनेकै फिल्म हल हो । हरेक दिन फिल्म हलहरूमा हजारौंको भिड लाग्ने गरेको हुन्छ । तर यस्तो भिड अहिले नेपाली चलचित्र चल्ने हलमा देख्न निकै मुस्किल परेको छ । हिन्दी चलचित्र चल्ने हलमा कहिल्लै नटुट्ने भिड नेपाली चलचित्र चल्ने हलमा भने टुटेको देखिन्छ ।
चलचित्र हलमा भिड नियन्त्रण गर्ने प्रहरीलेहरूले अहिले आराम पाएका छन् । टोले दादाहरूले हलमा आफ्नो रवाफ देखाउन पनि पाएका छैनन् । ब्ल्याकमा टिकट बेच्नेहरू अहिले कुन दुलामा लुकेका छन् पत्तो छैन । हल भित्र ठेलठेल हुँदा निसास्सिएर भए पनि चलचित्र हेर्ने दर्शकहरूले अहिले सुख पाएका छन् । पछाडीको सिटमा बसेर अगाडीको सिटमा खुट्टा राख्दै बिलासी बनेर चलचित्र हेर्ने अवस्था छ अहिले । यसबाट यो प्रष्ट हुन्छ कि नेपाली चलचित्र हेर्ने दर्शकहरू प्रति बितृष्णा जागेको छ जसले गर्दा दिन प्रतिदिन दर्शकहरू कम हुँदै गएका छन् ।
आखिरमा दर्शक किन घट्दै छन् त ? यसको मुख्य कारण नै दर्शकले चाहे अनुरूपको सिनेमा नबन्नु हुनसक्छ । नत्र भने हिन्दी चलचित्र हेर्ने दर्शक ठेलमठेल हुनु र नेपाली चलचित्र हेर्ने दर्शक किन पातलिदै जानु त ? यसरी दर्शक दिन प्रतिदिन घट्दै गएपछि निर्माता निर्देशकहरू पछिल्लो समयमा केहि सजक भने देखिएका छन् । केहि चलचित्रकर्मीहरूले दर्शकको मनोभावनालाई बुझेर चलचित्र निर्माण गर्न खोजेको देखिएको छ ।
यस बर्षको शुरूवातबाटै ओरालो लागेको सिनेमा बजार अब भने उकालो लाग्नेमा केहि आश जागेको छ । किनकी यस बर्ष राम्रा भनिएका र बिग बजेटका चलचित्रहरू प्रदर्शनको क्रममा छन् । हुनत गत बर्ष पनि राम्रा भनिएका र बिग बजेटका चलचित्रले हावा नखाएको हैन र पनि यस बर्ष हरेक पक्षले चलचित्र सबल भएकोले पनि व्यापार राम्रो हुनेमा निर्माताहरू आशावादी छन् ।
आगामी साता सुदर्शन थापा निर्देशित चलचित्र 'के यो माया हो' ले केहि हदसम्म भएपनि नेपाली दर्शकलाई हलसम्म तान्नेमा चलचित्रकर्मीको बिश्वास छ । त्यसैगरी केहि फरक धारमा रहेर निर्माण गरिएको अर्को चलचित्र 'ब्रेक फेल' ले पनि दर्शकहरूलाई हलसम्म पुर्याउँछ कि भन्ने अनुमान गर्छन् चलचित्रकर्मी । यदि यि चलचित्रले दर्शकलाई हलसम्म ताने कोसिस गरे भने आगामी दिनमा रिलिज हुन लागेका राम्रा भनिएका चलचित्र सायद, काठमाण्डू, साथी म तिम्रो, मिस यू, च्यालेञ्ज आदि चलचित्रले नेपाली चलचित्र क्षेत्रमा नयाँ आयाम ल्याउने छ भन्ने आश गर्न सकिन्छ । यदि यि चलचित्रले पनि दर्शक तान्न सकेनन् भने नेपाली चलचित्रको बजार कहिल्लै उभों लाग्ने छैन ।