
कुनै समय यस्तो थियो जति बेला चलचित्रमा निर्माताको नाम महिलाको हुन्थ्यो अनी प्रस्तुतकर्तामा पुरुषको नाम हुन्थ्यो । घर परिवारले मिलेर बनाएको चलचित्रमा निर्मातामा महिलाको नाम राखेर उनीहरुको प्रतिनिधित्व मात्रै गराइन्थ्यो तर उनीहरुको संलग्नता हुदैनथ्यो । खासगरी श्रीमानले बनाएका चलचित्रको निर्मातामा महिलाको नाम राखेर प्रचार गरिदै आएको भए पनि पछिल्लो केही वर्षयता चलचित्र निर्माणमा महिला निर्माताहरुको प्रबेशले प्राथमिकता पाइरहेको छ ।
धमाधम महिलाहरु चलचित्र निर्माणमा आउनुले उनीहरु पनि पुरुष सरह सक्षम भएको कुरालाई पुष्टी गरीदिएको छ । एक पछि अर्को महिला निर्माताहरु चलचित्रमा प्रबेश गर्नु र त्यसले निरन्तरता पाउनुले चलचित्रमा फरक रौनकता छाएको छ । खासगरी अहिले चलचित्र निर्माता बन्नेमा नायिकाहरूबीच होडबाजी नै चलिरहेको छ । दर्शकहरू माझ आफू लोकप्रिय भएकोले आफू निर्माता भए भने बढी फाइदा हुने सोचले पनि नायिकाहरू निर्माता बनेको हुनसक्छ तर चलचित्र राम्रो बनाउन नै नसके उनीहरूको लोकप्रियताको कुनै मूल्य रहँदैन ।
चलचित्रको इतिहासलाई पल्टाएर हेर्ने हो भने चलचित्र निर्माणको शुरूवातकै क्रममा महिलाहरू चलचित्र निर्माणमा देखिएका छन् तर टिक्न भने सकेनन् । नेपाली चलचित्रकी प्रथम महिला निर्माता जुनी चलचित्रकी निर्माता मन्जु राणा हुन् । निर्माता राणापछि व्यवसायिक रूपमा नै नेपाली चलचित्र निर्माणमा हात हालेकी महिला निर्माता हुन् सुमित्रा पौड्याल । त्यस्तै मालती राईले पनि साईनो चलचित्र निर्माण गरिन् तर दुर्भाग्य यि निर्माताहरू लामो समय टिक्न सकेनन् ।
बिचका समयमा केहि नायिकाहरू अभिनयसँगसँगै चलचित्र निर्माणमा पनि हात नहालेका हैनन् । प्रसिद्धीका रायमाझीले पिंजडा, सज्जा मैनालीले सावधान, मेलिना मानन्धरले ज्वालामुखी, करिष्मा मानन्धरले ढुकढुकी र बाबुसाहेब निर्माण गरे र उनीहरू पनि स्थायी हुन सकेनन् । त्यसपछि केहि नायिकाहरू आए जो अहिलेसम्म त टिकेकै छन् तर नेपाली चलचित्रको खस्कदो व्यापारका कारण निर्माताको रूपमा उनीहरूको भबिष्य यहि हुन्छ भन्न सक्ने अवस्था छैन ।
अहिले सुस्मिता केसी, जेनी कुवँर, मौसमी मल्ल, रेखा थापा, झरना थापा, प्रज्ञा जोशी, लक्ष्मी क्षेत्री, कृषा चौलागाई, एलिजा रिजाल, कविता श्रेष्ठ, ऋचा घिमिरे लगायतका महिलाहरू चलचित्र निर्माणमा सक्रिय देखिएका छन् । यता नायिका रेजिना उप्रेती पनि वरदान चलचित्र निर्माण गरेपछि अभिनयसँगै चलचित्र निर्माणलाई निरन्तरता दिने बताएकी छिन् । वर्तमान परिप्रेक्ष्यमा नेपाली सिनेमा निर्माणको क्षेत्रमा यि महिलाहरूको प्रवेशलाई चलचित्र क्षेत्रको लागि राम्रो सकारात्मक रूपमा लिन सकिन्छ । त्यसैले आशा गरौं यि महिला निर्माताहरू बिगतका महिला निर्माताको उदाहरण बन्ने छैनन् र राम्रो चलचित्र निर्माण गरेर उदाहरणिय काम गर्नेछन् ।