
बरिष्ठ चलचित्रकर्मी युवराज लामा आफ्नै पूरानै क्षेत्र खेलकुदमा फर्केका छन् । यानकी खेलकुद क्षेत्रबाट चलचित्र क्षेत्रमा प्रवेश गरेका लामा अहिले खेलकुद परिषदको सदस्य सचिवममा नियुक्त भएका छन् । लामाले आज साँझ ६ बजे कमलपोखरी स्थित युवा तथा खेलकुद मन्त्रालयमा सपथ लिएर आफ्नो कार्यभार सम्हाल्दैछन् ।
भाग्यरेखा चलचित्रमा द्वन्दनिर्देशन र अभिनय गरेर चलचित्र क्षेत्रमा लागेका लामाले अहिले सम्म करिब अढाई दर्जन चलचित्रको निर्देशन तथा अढाई दर्जनकै संख्यामा चलचित्र निर्माण पनि गरेका छन् । लामाले पहिलो पटक निर्देशन गरेको चलचित्र प्रतिज्ञा हो भने निर्माण गरेको चलचित्र देउता हो । यसैगरी उनले करिन ४ दर्जन भन्दा बढि चलचित्रमा अभिनय पनि गरिसकेका छन् ।
नेपाल चलचित्र निर्देशक समाजका संस्थापक अध्यक्ष समेत रहेका लामा नेपाल चलचित्र निर्माता संघका पूर्व अध्यक्ष हुन् । कराँतेका राष्ट्रिय खेलाडी लामा नेपाल सितेरियो कराँते एसोसिएशनका संस्थापक सदस्य पनि हुन् । चलचित्र निर्माण कार्यलाई केहि बर्ष देखि थाँती राखेर राजनिती र बिभिन्न संस्थामा सक्रिय भएर लागेका लामाले अझै केहि समय चलचित्र निर्माण बारे नसोचेको बताए ।