दुई विधाका दुई अविबाहित स्टार तर नाम एउटै भएका महानायक राजेश हमालले नेपाली संगीत दुनियाका राजा अर्थात राजेश पायल राईलाई सुटिङ्ग स्थगित गरी आफ्नो अमुल्य समय दिएका छन् ।
फरक भूमिकामा गएको आईतबारदेखि चलचित्र हात लाग्यो शुन्यको छायाकंनमा ब्यस्त रहेका हमाल मंगलबारको सो सुटिङ्गमा आफ्नो उपस्थिति स्थगित गरी राईको १२औ एल्बम राई इज किङ्गलाई विमोचन गरेका हुन । निर्धारित समय भन्दा करिब डेढ घण्टा उपस्थित भएका हमालले आउने वित्तिकै राईको एल्बमलाई विमोचन गरेका थिए ।
व्यक्तिगत जीवनमा निकै मिल्ने यि दुई राजेश विमोचन समारोहमा निकै हर्षित देखिन्थे । हमालका सहयोगी चिरञ्जीवी आचार्यका अनुसार वैदेशिक कार्यक्रममा जादा हमाल प्राय अरूसँग बस्न रूचाउदैनन् तर गायक राईलाई भेटे यि दुई घण्टौ सँगै विताउने गर्दछन् ।
करिब दर्जन बढी चलचित्रमा संगीत तथा सयौ चलचित्रमा स्वर दिईसकेका पार्श्व गायक राजेश पायलले निर्देशक दीपक श्रेष्ठको निर्देशनमा बन्न लागेको चलचित्र दर्शन नमस्तेबाट नायकको समेत परिचय बनाउदैछन् । सो चलचित्रमा राईको ब्यक्तिगत जीवनमा मिल्ने केही कथा र उनले गाएको हिट गीत दर्शन नमस्ते पनि समेटिने छ । मंगलबार बिमोचन गरिएको राईको एल्बममा एघार वटा गीत समेटिएको छ । ती मध्ये तीन वटा गीतको म्यूजिक भिडियो समेत तयार गरिएको छ । नायक हमालले विमोचन गरेको सो एल्बमको म्यूजिक भिडियोमा नायिका त्रय दिया मास्के, ऋचा शर्मा र नीता ढुंगानाले अभिनय गरेका छन् ।

