
तेस्रो प्रजेक्टको लागि आफूले रोजेको टाईटल नजिकका चलचित्रकर्मीले मन नपराएपछी निर्देशक दीपेन्द्र के. खनाल तनावमा परेका छन् ।
नायक आर्यन सिग्देललाई लिएर केही सातामै सुटिङ्गमा जाने तयारी गरेको 'काठमाण्डू नाईट' भन्ने उनको चलचित्रको शिर्षक लाई उनी निकटका चलचित्रकर्मीले परिवर्तन गर्न दवाव दिईरहेका छन् । काठमाण्डूको रात्रीकालिन अवस्थालाई मध्यनजर गर्दै तयार गरिएको सो प्रोजेक्टको कथा अनुसार दीपेन्द्रले काठमाण्डू नाईट भन्ने टाईटल रोजेका थिए । तर काठमाण्डू शब्द झुण्डिएका केही चलचित्रहरू निर्माण भै सकेका र केही बन्ने तयारीमा रहेकाले उनलाई आफू निकटका ब्यक्तिहरूले टाईटल परिवर्तन गर्न दवाव दिएका हुन ।
नेपाली सिनेजगतमा पहिलो पटक निर्माता तथा निर्देशक आकास अधिकारीले काठमाण्डू भन्ने चलचित्र निर्माण गरेका छन् । नयाँ बर्षमा रिलिज हुने उक्त चलचित्र अहिले ग्लोबल मार्केटिङ्गमा छ । यस्तै काठमाण्डू झुण्डिएको निर्देशक नबिन सुब्बाको चलचित्र गुणबाई काठमाण्डू पनि निर्माणको क्रममा छ भने दीपक रायमाझीले निर्देशन गर्ने अर्को चलचित्र डेष्टीनेशन काठमाण्डू केही साता भित्रै छायाकंनमा जादैछ । जस अनुरूप काठमाण्डू झुण्डिएको दीपेन्द्रको फिल्म सवैभन्दा अन्तिममा तयारी हुने छ ।
नेपाली दर्शक एउटै नाम भएको फिल्मबाट झुक्किन सक्छन जस अनुरूप रिलिजमा धक्का नहोस भन्ने हिसावलाई टाईटल फेर्न आफुलाई चौतर्फी सुझाव आईरहेको दीपेन्द्रले फिल्मीखबर समक्ष भने । तर अरूले दिएको सुझाव अनुरूप काठमाण्डू नाईटको टाईटल फेर्न दीपेन्द्रलाई मन छैन् । काठमाण्डू नाईटका लागि उनले शिर्षगीत समेत तयार गरिसकेका छन् । तर पनि विभिन्न पक्षले दिएको सुझावलाई अस्विकार भने नगरेको दीपेन्द्रले भने । सायद टाईटल परिवर्तन पनि हुन सक्छ 'तर त्यसको बदलामा के राखू ? ' उनले सुझाव मागेका छन् ।