
करिब एक महिना अघि अमेरिका गएका चर्चित गीतकार डा. कृष्णहरी बराल कार दुर्घटनामा परेका छन् । निकै ढिलो गरी प्राप्त भएको जानकारी अनुसार गएको पौष १८ गते बराल पत्नी सुषमा सहित छोरा स्वप्नील र उनका साथी सन्तोष अधिकारीसँग भ्रमणका क्रममा अमेरिकाको पेन्सिलभेनियामा दुर्घटनामा परेका हुन् ।
गीतकार बरालका भाई विश्वनाथ बराल (प्रेम)ले मंगलबार साँझ फिल्मीखबरलाई दिएको जानकारी अनुसार दुर्घटनामा परेका आफ्ना दाजु कृष्णहरीलाई डेढ सातासम्म आईसियूमा राखिएको थियो भने भाउजू सुषमाको खुट्टा भाँचिएको छ । यस्तै सँगै रहेका कृष्णहरीका छोरा र उनका साथी भने सकुशल रहेको उनको भनाई थियो ।
कृष्णहरीको परिवार बोस्टनबाट ओहियो जाने क्रममा उनीहरू चढेको कार सडकको बारमा बेजोडले ठोक्किएको थियो । जुन खबरलाई उनले मंगलबार साँझ आफ्नो फेसबुका वालमा पनि लेखेका छन् । यस्तै पारिवारिक सुत्रबाट बुझिन आए अनुसार बरालको स्वास्थ्य अवस्था अहिले सामान्य छ र उनी खतरा मूक्त भएका छन् ।