
प्रदर्शन हुने मिति दुई पटक सरेर बल्ल पालो पाएको चलचित्र "दीप शिखा" को प्रिमियरमा उपस्थितिका लागि निर्देशक नरेश पौडेलले चलचित्रकर्मी र सञ्चारकर्मीलाई एसएमएस निम्तो पठाएका छन् ।
आगामी बिहिबार बेलुकी साढे ५ बजे कुमारी सिनेमा घरमा सो चलचित्रको प्रिमियर हुने भएकाले आज सोमबारबाट उनले सबैलाई एसएमएस निम्तो पठाएका हुन । अन्य चलचित्रको प्रिमियरमा निमन्त्रणा कार्ड छाप्ने चलन भएपनि नरेशले निमन्त्रणा कार्डको साटो फोन र एसएमएसबाट सवैलाई निम्ता दिईरहेका छन् ।
प्रिमियरमा सहभागीता जनाउनका लागि फोन गर्न र एसएमएस पठाउन व्यस्त रहेका निर्देशक पौडेलले यस अघि निकै राम्रो ब्यापार गर्न सफल चलचित्र "घडकन" बनाएका थिए ।
शुक्रबार देखि प्रदर्शनमा आउने उनको चलचित्रलाई नायिका अरूणिमा लम्सालले लेखेकी हुन । नारी प्रधान तर त्रिकोणात्मक प्रेम कथामा आधारित सो चलचित्रमा निरज बराल, जीवन लुइटेल र अरूणिमाले प्रमुख भूमिकामा अभिनय गरेका छन् ।