
नेपाली कथानक चलचित्र "फस्टलभ" का कलाकार र निर्माताले मंगलबार दमौलीको उत्तरशीला चलचित्र मन्दिरमा दर्शकसँग चलचित्र हेरेका छन् ।
देशभरका ५२ हलहरुमा गत साताबाट प्रदर्शनमा आएको यस चलचित्रको मोफसलका हलहरुमा दर्शकको प्रतिक्रिया बुझ्न आएका फस्टलभका निर्माताद्वय माधव वाग्ले, नरेन्द्र महर्जन र नायकद्वय विनय श्रेष्ठ र महेश शाक्य (कर्म) दर्शकसँग बसेर चलचित्र हेरेका हुन् ।
चलचित्र हेरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै निर्माता वाग्लेले 'मोफसलका हलहरुमा दर्शकको उत्साहप्रद सहभागिता देखेर थप प्रेरणा मिलेको' बताए । 'चलचित्र प्रदर्शनमा आएदेखि नै मोफसलका हलहरुमा दर्शकको राम्रो उपस्थिति छ' उनले भने 'जसले गर्दा चलचित्रका सम्पूर्ण टिमलाई प्रेरणा मिलेको छ । करिब ७० लाखमा निर्माण गरिएको यस चलचित्रले एक हप्तामै ९० लाख भन्दा बढि कमाई गरिसकेको उनले सो अवसरमा जानकारी दिए ।
उनले चलचित्र इतिहासमा छोटो अवधिमा यतिका कमाई गर्न "फस्टलभ" सफल भएको समेत दावी गरे । चलचित्रमा ऋचा शर्माको भूमिका काभ्रेको एक युवतीको कथामा आधारित रहेको उनले बताए । चलचित्रमा गौरवको भूमिकामा रहेका कर्मको भूमिका आफ्नै प्रेमकथामा आधारित रहेको वाग्ले बताएका छन् । 'आफूले पनि ८ वर्षम्म कसैलाई एकोहोरो प्रेम गरेको र सोही घटनालाई गौरवको अभिनयमा देखाइएको' वाग्लेले भने ।
चलचित्रका अर्का निर्माता नरेन्द्र महर्जनले युवाहरुलाई समेटेर चलचित्र बनाइएको हुँदा दर्शकहरुले अत्याधिक मन पराइदिएको बताए । चलचित्रका नायकद्वय विनय श्रेष्ठ र कर्मा शाक्यले पनि चलचित्र सम्बन्धी दर्शकहरुको एकदमै राम्रो प्रतिक्रिया आएको जानकारी दिए ।
उत्तरशीला चलचित्र मन्दिरका व्यवस्थापक प्रमोद पाण्डेले फस्टलभ प्रदर्शनमा आएदेखि नै दर्शकको उल्लेख्य सहभागिता रहेको बताए । उनका अनुसार हालसम्म ११ हजार भन्दा बढि दर्शकले चलचित्र हेरिसकेका छन् । उनका अनुसार चलचित्र हेर्नेमा कलेज पढ्ने युवायुवतीको भीड लाग्ने गरेको छ ।