
-भदौ ४ गतेका लागि प्रदर्शनको मिति तय भएको चलचित्र कोही मेरो को प्रदर्शन मिति सरेको छ ।
"चलचित्र प्रदर्शनको लागि चलचित्र भवनहरूसंग कुरा नमिले पछी चलचित्रलाई एक हप्ता पर सारिएको" निर्माता सुरज बंशलले जानकारी दिए । बंशलले दिएको जानकारी अनुसार आगामी भदौ ११ गते बिहान चलचित्रको प्रेस शो गरिने छ, भने त्यही दिन अपरान्ह बाट राजधानीका जय नेपाल, गोपी कृष्ण, गुण र बाराही लगायत उपत्यका बाहिरका ४० वटा हलबाट एक साथ प्रदर्शनमा आउँने छ ।
महत्वाकांक्षी मानिएको आलोक नेम्वाङद्धारा निर्देशित दोश्रो चलचित्र "कोही मेरो" लाई म्युजिक डटकमले निर्माण गरेको हो । चलचित्रमा आर्यन सिग्देल, सञ्चिता लुइँटेल, झरना बज्राचार्य तथा सुवास थापाको मुख्य भुमिका छ । साँगितिक प्रेमकथामा आधारित "कोही मेरो" चलचित्रमा सुरेश अधिकारी, बसन्त सापकोटा र सुरेश राईको संयुक्त संगीत मा सत्यस्वरुपराज आचार्य, दीपक लिम्बु, अन्जु पन्त, शिव परियार र रजिना रिमालको स्वर सुन्न सकिनेछ । चलचित्रको धेरैजसो दृश्य मुस्ताङका विभिन्न ठाउँमा छायांकन गरिएको छ ।
यो चलचित्रमा नायिका सञ्चिता लुईटेल पहिलो पटक बिकनीमा देखिएकी छिन् ।