Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पोखरामा हमालले गरे ‘१८ डी सिनेमा’को उद्घाटन

फिल्मीखबर, काठमाडौं, 2026/03/20

rajesh hamal

 

पर्यटकीय राजधानी पोखरामा अब मनोरञ्जनको क्षेत्रमा नयाँ आकर्षण थपिएको छ । फ्लाइ ओभर इन्टरटेनमेन्टले पोखराको डिज्नील्याण्ड लेकसाइडमा अत्याधुनिक ‘१८ डी सिनेमा’ सञ्चालनमा ल्याएको हो । शुक्रबार अभिनेता राजेश हमालले यसको उद्घाटन गरे । ‘१८ डी सिनेमा’को पहिलो शाखा काठमाडौंको कमलपोखरीस्थित सिटी सेन्टरमा रहेको छ ।

हमालले उक्त सिनेमाको उद्घाटन गर्दै पोखरेली दर्शकले अब फरक किसिमको सिनेमाटिक अनुभव लिन पाउने बताए । यो सिनेमा मनोरञ्जन मात्र नभइ नयाँ संसारको अनुभव रहेको उनको भनाइ छ । उनले अब बन्ने सरकारले नयाँ गतिविधिमा लाग्ने उद्यमीहरूलाई प्रोत्साहन गर्दै देशमा लगानी र रोजगारीको वातावरण सिर्जना गर्न ध्यान दिनुपर्ने धारणा समेत व्यक्त गरे ।

फ्लाइ ओभर इन्टरटेनमेन्टका प्रमुख राम थापाले काठमाडौंमा सफल सञ्चालनपछि पोखरामा दोस्रो शाखा विस्तार गरेको बताए । काठमाडौंको भन्दा पोखराको प्रविधि अझ उन्नत रहेको बताउँदै उनले ‘१८ डी सिनेमा’मा १० देखि ३० मिनेटसम्मका १७ वटा फरक कथात्मक सिनेमामार्फत दर्शकले रोमाञ्चक अनुभव लिन पाउने दाबी गरे । 

कम्पनीका निर्देशक हिमाल थापाले पोखरामा यस प्रकारको सिनेमा सञ्चालनले साहसिक अनुभवलाई नयाँ उचाइ दिने विश्वास व्यक्त गरे । अब पोखरेली दर्शकले भित्री रूपमा पनि साहसिकता महसुस गर्न पाउने उनको भनाइ छ । ‘१८ डी सिनेमा’मा विभिन्न इफेक्टमार्फत दर्शकले आफू फिल्मको वास्तविक संसारमै समावेश भएको अनुभूति गर्न सक्ने उनी बताउँछन् ।