
बलिउड अभिनेता रणवीर सिंह अभिनीत फिल्म ‘धुरन्धर २’ले भारतीय बक्स अफिसमा नयाँ कीर्तिमान रचेको छ । यो फिल्मले बलिउडको इतिहासमै सबैभन्दा ठूलो ओपनिङको कीर्तिमान बनाएको हो । यसअघि यो रेकर्ड फिल्म ‘जवान’को नाममा थियो, जसले ७५ करोडको ओपनिङ गरेको थियो । ‘धुरन्धर २’ले भने पहिलो दिन नै एक सय करोडभन्दा बढीको कमाइ गरेको छ ।
ट्रेड पोर्टल स्याकनिल्कका अनुसार फिल्मले भारतमा मात्रै १२१ करोड ग्रस कमाएको छ । त्यसबाट फिल्मको नेट कमाइ १०२ करोड हुन आउँछ । फिल्मले हिन्दी भर्सनमा मात्र ९९ करोड भारु कमाएको छ । पेड प्रिभ्यूमा पनि फिल्मले ठूलो कमाइ गरेको थियो । पेड प्रिभ्यू (४३ करोड नेट) र ओपनिङको मिलाउँदा फिल्मको कूल व्यापार १४५ करोड ५५ लाख पुगेको छ ।
शुक्रबार पनि फिल्मको व्यापार एक सय करोड हाराहारी हुने अनुमान गरिएको छ । व्यापारिक रफ्तार यही हिसाबको रह्यो भने फिल्मले पहिलो सातामै भारतमा ५ सय करोडभन्दा बढीको कमाइ गर्ने देखिन्छ । र, यो अवधिमा फिल्मको विश्वव्यापी कमाइ ८ सय करोड हाराहारी पुग्न सक्छ । यो फिल्मको अघिल्लो भागले भारतमा ८३६ करोड र विश्वव्यापी १३ सय करोड कमाएको थियो ।
‘धुरन्धर: द रिभेन्ज’को रनटाइम ३ घण्टा ४९ मिनेट रहेको छ, जसले यसलाई २१औँ शताब्दीको दोस्रो सबैभन्दा लामो बलिउड फिल्म बनाएको छ । यसअघि सन् २००३ मा प्रदर्शन भएको जेपी दत्ताको ‘एलओसी कारगिल’ ४ घण्टा १५ मिनेटको अवधिसहित सबैभन्दा लामो हिन्दी फिल्म हो । ‘धुरन्धर २’को अन्तर्राष्ट्रिय संस्करण भने ३ घण्टा ५५ मिनेट लामो छ ।
बदला र ग्याङवारको कथामा आधारित यस फिल्ममा रणवीरसहित अर्जुन रामपाल, सञ्जय दत्त, आर माधवन, सारा अर्जुन लगायतको अभिनय रहेको छ । फिल्मलाई आदित्य धरले लेखन, निर्देशन र निर्माण गरेका हुन् । देशभक्ति र एक्सन–थ्रिलर फिल्मका लागि चिनिएका उनले यसअघि ‘उरी’ निर्देशन गरेका थिए, जुन व्यावसायिक रुपमा सफल भएको थियो ।

