.jpg)
लभस्टोरी फिल्ममा आफूलाई प्रमाणित गरिसकेका हेमराज विसी २ वर्षपछि निर्देशनमा फर्किने भएका छन् । पछिल्लो पटक ‘छक्का पञ्जा ४’ निर्देशन गरेका उनले आगामी वर्ष नयाँ फिल्म बनाउन लागेका हुन् । २ वर्षदेखि अमेरिकामा बस्दै आएका उनी यतिबेला फिल्मको तयारीका लागि नेपालमा छन् । आगामी असारमा फिल्मको छायांकन सुरु गर्ने उनको योजना छ ।
उनी नेपाल आएसँगै फिल्मका लागि अडिसन आह्वान गरिएको छ । हेमराज स्वंयले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै फिल्मका लागि १८ देखि २५ वर्ष, २६ देखि ३५ वर्ष र ३६ देखि ५० वर्ष उमेर समूहका कलाकारको खोजी भइरहेको जनाएका छन् । उनका अनुसार इच्छुकले चैत्र १२ गतेदेखि १४ गतेसम्म हुने अडिसनमा सहभागिता जनाउन सक्नेछन् ।
फिल्मको अडिसन काठमाडौँको भत्केको पुलस्थित कठघरा स्टुडियो (टिभी कार्यक्रम ‘कठघरा’ छायांकन हुने ठाउँ)मा सञ्चालन हुनेछ । तर, अडिसनमा सहभागी हुन चाहनेले अनिवार्य रूपमा इमेल र फोनमार्फत नाम दर्ता गराउनुपर्नेछ । नाम दर्ता भएपछि मात्र अडिसन दिन पाइने निर्माण कम्पनी मुनलाइट मोसन पिक्चर्सले जारी गरेको वक्तव्यमा उल्लेख छ ।
‘एक्टर : टेक वान’का निर्माता थमन कुमार भण्डारीले फिल्मको निर्माण गर्नेछन् । उनले यसअघि फिल्म ‘पण्डित बाजेको लौरी’ पनि निर्माण गरेका थिए । उनी ‘कठघरा’ कार्यक्रमका निर्माता पनि हुन् । उनले ‘एक्टर : टेक वान’ रिलिजको केही समयपछि चलचित्र विकास बोर्डमा ‘लोभीपापी’ नामक फिल्म दर्ता गरेका थिए । सम्भवतः हेमराजले निर्देशन गर्ने नयाँ फिल्म यही हुनेछ ।

