अभिनेत्री आँचल शर्मा बिहीबार आफ्नो २९ औं जन्मदिन मनाउँदैछिन् । उनको जन्मदिनको अवसरमा फिल्म ‘एक मुठी बादल’को टिजर सार्वजनिक गरिएको छ । डेढ मिनेटभन्दा लामो टिजरमा आँचललाई नै केन्द्रमा राखिएको छ । उनले ‘पोम्पोईको फूल’ शीर्षकको कविता वाचन गरेकी छन् । यसमार्फत निर्देशकले फिल्मको कथावस्तुबारे संकेत दिन खोजेको देखिन्छ ।
यो कविता फिल्मकी निर्देशक सहाराको बाल्यकालको सम्झनामा आधारित छ । उनका अनुसार उनले यस्तै भावको कविता सानो छँदा हजुरआमाबाट सुन्ने गरेकी थिइन्, जुन उनले लगभग बिर्सिसकेकी थिइन् । तर, फिल्मको सम्पादनका क्रममा यो कविता फेरि उनको स्मृतिमा फर्कियो । अहिले यो कविता फिल्मको अभिन्न अंग बनेको उनी बताउँछिन् ।
फिल्ममा मुख्य भूमिकामा अभिनय गरेकी आँचलले ‘एक मुठी बादल’ आफ्ना लागि विशेष रहेको बताएकी छन् । उनी भन्छिन्, ‘अरु फिल्ममा म अरु कोही भूमिका निर्वाह गरिरहेको हुन्छ तर यो फिल्मको माइली मैँ हो । आफ्नै जीवनलाई पर्दामा उतार्न पाउनुको सन्तुष्टि म शब्दमा भन्न सकिँदैन । यो फिल्म मेरा लागि एकदमै विशेष छ ।’
आगामी जेठ १ गते प्रदर्शन हुन लागेको यस फिल्ममा आँचलसहित निशा शर्मा, उषा रजक, भिमा मैनाली, गौरव विष्ट, मनिष निरौला, अस्मिता गौतम, अविरलप्रताप अधिकारी लगायतका कलाकारहरूको अभिनय रहेको छ । गौंथली इन्टरटेनमेन्ट र मन प्रडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा अभिमन्यु दीक्षितको लगानी रहेको छ भने कार्यकारी निर्मातामा निकुन श्रेष्ठ छन् ।
जर्मन निर्माता सारा फाजिलात, सामीप्य राज तिमल्सेना र अनुप पौडेलले पनि निर्माणमा सहकार्य गरेको यस फिल्ममा लिन्ह डान गुयेन फानको छायांकन, यशस्वी सभरवालको प्रडक्सन डिजाइन, गौरव मल्लिकको सम्पादन, अग्रणी ठकुरी झाको कला तथा जानकी कडायतको भेषभूषा डिजाइन रहेको छ । फिल्मलाई नेपालमा आरआर फिल्म्सले वितरण गर्नेछ ।

