नयाँ वर्षको छेको पारेर चैत २७ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘राम नाम सत्य’को ‘धागोले बाटेको’ गीत यतिबेला सर्वाधिक चर्चामा छ । गीतमाथि टिकटकमा २ लाखभन्दा बढी भिडियो बनिसकेका छन् भने युट्युबमा ४० लाख भ्यूज नाघेको छ । यो गीतले फिल्मप्रति दर्शकको चासो बढाइरहेको समयमा बिहीबार निर्माण पक्षले दोस्रो गीत ‘हुम्लाको लिमी’ सार्वजनिक गरेको छ ।
युवायुवतीबीचको प्रेम र आकर्षकलाई केन्द्रमा राखिएको यस गीतमा एसडी योगी र गीताञ्जली थापा मगरको स्वर, एसडी योगीको संगीत तथा मौसम अर्यालको शब्द छ । गीतको भिडियोलाई सियोन श्रेष्ठले कोरियोग्राफी गरेका हुन् । फिल्मका मुख्य अभिनेता विराज भट्ट र नव-अभिनेत्री खुसी कार्कीको आकर्षक नृत्य भिडियोमा देख्न सकिन्छ । यसको छायांकन दैलेखमा भएको थियो ।
कोरियोग्राफरको रूपमा परिचित माइकल चन्दको निर्देशनमा बनेको यस फिल्ममा विराज र खुसीसहित सुशील श्रेष्ठ, दिव्या रायमाझी, सुपुष्पा भट्ट, आयुष सिंह ठकुरी, स्व. सुनिल थापा, प्रशान्त ताम्राकार लगायतका कलाकारहरूको अभिनय रहेको छ । चर्चित टिकटकर आयुषले यही फिल्मबाट अभिनय करिअर सुरु गरेका हुन् ।
माइकल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो फिल्मका लगानीकर्ता उपेन्द्र शाही र स्वेता विमली हुन् । कार्यकारी निर्मातामा किशोर भट्ट, राजेन्द्र भट्ट र अर्जुन सुनार रहेका छन् । फिल्ममा मानकृष्ण महर्जनको डीओपी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन, बन्दे प्रसादको सम्पादन तथा बाबुल गिरी, अर्जुन पोखरेल, एसडी योगी र नवा अन्सारीको संगीत रहेको छ ।

