
यस वर्ष म्यूजिक भिडियो र टिकटक पृष्ठभूमिका कलाकारहरूको फिल्ममा आगमन उल्लेख्य रुपमा भयो । गत फागुनसम्म रिलिज भएका लगभग २० प्रतिशत फिल्ममा नाम कहलिएका मोडल र टिकटकर थिए । तर, दर्शकबाट एकाध मात्र अभिनेता र अभिनेत्रीको रुपमा अनुमोदन भए । यसअर्थ यो वर्ष भिडियो र टिकटकका कलाकारका लागि फिल्म यात्रा अपेक्षित बन्न सकेन ।
म्यूजिक भिडियो पृष्ठभूमिबाट यस वर्ष फिल्ममा डेब्यु गर्नेमा आकृति राजभण्डारी पनि पर्छिन् । ‘बार्दली’ गीतबाट युवापुस्तामाझ चिनिएकी उनले फिल्म ‘कुमारी’बाट ठूलो पर्दामा आफ्नो अभिनय यात्राको श्रीगणेश गरेकी थिइन् । रिलिजपूर्व फिल्म र उनको चर्चा राम्रै थियो । अझ फिल्मको गीत ‘डोको बुन्ने’ जनजिब्रोमा झुन्डिएको थियो । तर, दुर्भाग्य ! फिल्मको गीत मात्र चल्यो ।
प्रदर्शनको पहिलो दिनदेखि नै दर्शकको खडेरी भोगेको ‘कुमारी’ अन्ततः यस वर्षको ठूलो डिजास्टरमध्ये एक बन्यो । करिब ४ करोडमा बनेको यो फिल्मले ७० लाख पनि कमाउन सकेन । न त आकृति यो फिल्मबाट अभिनेत्रीको रुपमा ‘मार्क’ हुन सकिन् । उनको अभिनयको खासै प्रशंसा नै भएन । बरु उनको जोडी बनेर देखिएका अभिषेक खड्काले अभिनयमा वाहवाही बटुले ।
‘कुमारी’बाट पहिलो गाँसमै ढुंगा लागेपछि आकृतिको फिल्म करिअरमा ठूलो संकट मडारिएको छ । अब उनलाई फिल्ममा मुख्य अभिनेत्रीका रूपमा लिन निर्माताहरू हिच्किचाउन सक्ने देखिन्छ । ‘कुमारी’मा मुख्य भूमिकामा काम गरिसकेकाले उनलाई सहायक भूमिकामा झर्न पनि नैतिक रूपमा सहज देखिँदैन । तनाव छ आकृतिलाई ।

