Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘मालती मंगले’को ‘सुनैको सपनी’ गीतमा माया साट्दै विजय र वर्षा

फिल्मीखबर, काठमाडौं, 2026/03/18

 Bijay Baral, Barsha Raut

 

गायक रामकृष्ण ढकालले पहिलो पटक निर्माण गरेको फिल्म ‘मालती मंगले’को पहिलो गीत ‘सुनैको सपनी’ सार्वजनिक गरिएको छ । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच निर्माण पक्षले प्रेमिल भावको उक्त गीत सार्वजनिक गरेको हो । गीतमा गायक ढकाल र रचना रिमालको स्वर रहेको छ भने आनन्द अधिकारीको शब्द तथा उज्जवल सागरको संगीत छ । 

कथावाचन शैलीमा तयार पारिएको गीतको भिडियोमा फिल्मका मुख्य जोडी विजय बराल र वर्षा राउतलाई देख्न सकिन्छ । श्रीमान्-श्रीमतीको भूमिकामा रहेका उनीहरूको आपसी प्रेम र समर्पणलाई भिडियोमा उतारिएको छ । दुवैको केमेस्ट्री सुन्दर देखिएको छ । भिडियोका दृश्यमार्फत निर्देशकले मुख्य पात्रको सम्बन्धलाई दर्शाउँदै कथावस्तुबारे झलक दिन खोजेको देखिन्छ । 

गीत सार्वजनिक कार्यक्रममा बोल्दै निर्माता ढकालले राष्ट्रकवि माधवप्रसाद घिमिरेको ऐतिहासिक गीति नाटक ‘मालती मंगले’मा फिल्म आधारित नरहेको स्पष्ट पारे । उनले भने, ‘यो फिल्म राष्ट्रकविको नाटकमा आधारित होइन । हाम्रै वरपर रहेको तर त्यो दृष्टिकोणबाट नहेरिएको एउटा सामाजिक प्रेमकथा हो । कथा मात्र नभएर यसलाई सांगीतिक प्रेमकथा पनि भन्न सकिन्छ ।’

प्रकु पाण्डेयको निर्देशनमा बनेको यस फिल्ममा विजय र वर्षासहित मेक्सम गौडेल, प्रकाश घिमिरे, सरिता गिरी, सुस्मा निरौला, सुनिल तामाङ, उमेश सुनाम, शकु शाह, सुचित्रा उप्रेती, दिनेश शाही, रिजन परियार लगायतका कलाकारहरूको अभिनय रहेको छ । फिल्ममा निर्देशक पाण्डेय स्वयंको कथा छ भने पटकथा तथा संवाद संयोग गुरागाईँले लेखेका हुन् ।

आगामी बैशाख २५ गतेबाट प्रदर्शन हुन लागेको यस फिल्मको कार्यकारी निर्माता सागर ज्ञवाली हुन् । बाबु सुवेदी, रविन श्रेष्ठ, वेदना कर्माचार्य श्रेष्ठ, पद्मावती गुरुङ र स्वीकृति बस्नेत सह-निर्माता रहेको फिल्ममा महेश पौडेलको छायांकन, रोमी मोजेजको सम्पादन, डिकेश खड्गीको ध्वनि मिश्रण तथा कृष्ण भण्डारीको रंग संयोजन छ ।