
दक्षिण भारतीय अभिनेता विजय सेतुपतिको करिअरको यादगार फिल्ममध्ये मानिन्छ, ‘महाराजा’ । सन् २०२४ मा रिलिज भएको यो एक्सन थ्रिलर फिल्मले व्यावसायिक र समीक्षात्मक दुवै रूपमा सफलता पाएको थियो । अब यो फिल्मको दोस्रो भाग (सिक्वेल) निर्माण हुने भएको छ, जसमा विजय स्वयं मुख्य भूमिकामा देखिनेछन् ।
‘महाराजा’को सिक्वेल बन्न लागेको पृष्टि गर्दै विजयले एक अन्तर्वार्तामा भनेका छन्, ‘निर्देशक निथिलन समिनाथनले सिक्वेलको स्क्रिप्ट पूरा गरिसकेका छन् । म यसलाई सुन्न उत्साहित छु ।’ ‘महाराजा’मा उनी एक साधारण हजाम (कपाल काट्ने व्यक्ति)को भूमिकामा देखिएका थिए । तर, भित्री रूपमा उनको पात्रले गहिरो पीडा र रहस्य बोकेको थियो ।
विजयको करिअरको सबैभन्दा ठूलो हिट फिल्मध्ये रहेको ‘महाराजा’ सन् २०२४ मा चीनमा समेत रिलिज भएको थियो । चीनमा तमिल फिल्ममध्ये सबैभन्दा ठूलो रिलिजको अवसर पाएको यो फिल्मलाई ४० हजारभन्दा बढी स्क्रिनमा देखाइएको थियो । र, चीनमा मात्र फिल्मले ९१ करोडभन्दा बढी कमाइ गर्यो । योसँगै फिल्मको विश्वव्यापी कमाइ २ सय करोड पुगेको थियो ।
‘महाराजा २’सँगै विजय तमिल निर्देशक मणिरत्नमको नयाँ फिल्ममा पनि काम गर्ने योजनामा छन् । उनले आफ्नो समय मिल्नसाथ मणिरत्नमलाई भेटेर फिल्मको स्क्रिप्ट पढ्ने बताएका छन् । यतिबेला भने उनी निर्देशक थियागराजन कुमारराजाको नयाँ फिल्म ‘पोकेट नोबेल’को छायांकनमा व्यस्त छन् । यसअघि उनीहरूले फिल्म ‘सुपर डिलक्स’मा सहकार्य गरेका थिए ।

