Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

चैत २७ मा नआउने भएको हो ‘३६ को आँकडा’ ?

फिल्मीखबर, काठमाडौं, 2026/03/17

rekha thapa

 

हरेक नयाँ वर्षमा फिल्म रिलिजको चाप उच्च हुने गरेको छ । आगामी नयाँ वर्षमा पनि यही अवस्था दोहोरिँदैछ । चैत २७ गतेलाई तीन फिल्म ‘राम नाम सत्य’, ‘३६ को आँकडा’ र ‘डल्लेले इन्ट्री मार्‍यो’ले प्रदर्शन मिति तय गरेर बसेका छन् भने बैशाख १ गते अर्को फिल्म ‘पहाड’ रिलिज हुँदैछ । तर, यी चार फिल्ममध्ये ‘३६ को आँकडा’ले भने अहिलेसम्म प्रचारको सुरसार नै गरेको छैन ।

यो फिल्मको छायांकन पूरा भएर सम्पादन कार्य अन्तिम चरणमा पुगिसकेको छ । तर, प्रदर्शनका लागि अब एक महिना पनि बाँकी नरहेको अवस्थामा निर्माण पक्षले कुनै प्रचार सामग्री सार्वजनिक गरेको छैन । न त कलाकारहरू प्रचारमा सक्रिय छन् । फिल्मकी मुख्य अभिनेत्री रेखा थापा नै यतिबेला आफू निर्देशित नयाँ फिल्म ‘माया भनेकै यस्तो होला’को छायांकन गरिरहेकी छन् ।

एकातिर फिल्मको प्रचार शून्य हुनु र अर्कोतिर मुख्य कलाकार नै अर्को फिल्ममा व्यस्त भएका कारण ‘३६ को आँकडा’ निर्धारित मितिबाट सर्न लागेको चर्चा चलिरहेको छ । फिल्मका निर्देशक सवीर श्रेष्ठ पनि प्रदर्शन मिति सार्ने मनस्थितिमा देखिएका छन् । चुनावका कारण प्रचार गर्न नपाएको र अब समय कम रहेकाले फिल्मको रिलिजबारे पुनर्विचार गरिरहेको उनले बताए । 

उनले फिल्मीखबरसँग भने, ‘म फिल्मको रिलिज सार्नुपर्छ भन्नेमै छु । किनकि, चुनावका कारण हामीले प्रचार गर्न नै पाएनौं । अब प्रचार सुरु गर्दा पनि कम समय छ । यसैले रिलिज सार्ने विषयमा टिमसँग छलफल गरिरहेको छु । टिमबाट भने रिलिज नसार्न सुझाव आएको छ । तर, मेरो प्रयास चाहिँ रिलिज सार्नेमै हुनेछ । केही दिनमा यसबारे निर्णय लिन्छौं ।’

रेखा र सविरले संयुक्त रुपमा निर्माण गरेको यस फिल्ममा रेखासहित निरूता सिंह, पूजा शर्मा, महेश त्रिपाठी, पुष्प खड्का, निशा अधिकारी लगायतका कलाकारहरूको अभिनय रहेको छ । फिल्ममा रेखा डिएसपीको भूमिकामा छिन् । उनको बहिनीको भूमिकामा पूजाले अभिनय गरेकी छन् । उनीहरूबीचको कटु सम्बन्धलाई फिल्मको मुख्य कथावस्तु बनाइएको छ ।