.jpg)
गत शुक्रबारबाट प्रदर्शनरत फिल्म ‘लालिमा’की कार्यकारी निर्माता रिना लामाले भावी प्रधानमन्त्री बालेन शाहलाई खुला पत्र लेखेकी छन् । फिल्मले उठाएको यौनकर्मी महिलाको मुद्दालाई सम्बोधन गर्न उनले पत्रमार्फत आग्रह गरेकी छन् । यौनकर्मीहरूले अझै पनि हिंसा, विभेद र सामाजिक बहिष्करणको सामना गरिरहेकाले उनीहरूको सुरक्षा सुनिश्चित गर्नुपर्नेमा उनले जोड दिएकी छन् ।
यौनकर्मी महिलाहरूका लागि काम गर्दै आएको संस्था ‘आस्था-फेथ’की कार्यकारी प्रमुख समेत रहेकी लामाले पत्रमा भनेकी छन्, ‘महिला यौनकर्मीहरू पनि हाम्रो समाजका सदस्य हुन् र उनीहरूको आवाजले अझ न्यायपूर्ण र समान समाज निर्माण गर्न मद्दत पुर्याउँछ । उनीहरूले हिंसाबाट सुरक्षा, न्यायमा पहुँच र कानुनअन्तर्गत समान मान्यताको अधिकार पाउनुपर्छ ।’
उनले ‘लालिमा’ हजारौं यौनकर्मीहरूको आवाजको सामूहिक दस्ताबेज भएको दाबी गरेकी छन् । फिल्ममा यौनकर्मीहरूको भित्री पीडा र जीवन धान्न निरन्तर गरिरहेको संघर्षको चित्रण रहेको बताउँदै उनले पत्रमा अगाडि लेखेकी छन्, ‘यो फिल्म नीति निर्माता र आम जनताका लागि यस्तो मञ्च बन्न सकोस्, जहाँ कुनै पनि महिला हिंसाको सिकार नहोस् वा मर्यादाबाट बञ्चित नहोस् ।’
रिनाले बालेनलाई फिल्म हेर्न र यौनकर्मीहरूसँग संवाद गर्ने निम्तो पनि दिएकी छन् । अति सीमान्तकृत नागरिकहरुको अधिकार र मर्यादाको संरक्षण गर्दा मात्र राष्ट्र बलियो हुने उल्लेख गर्दै उनले यौनकर्मीहरूको अनुभव र आवाजले नेपालका लागि अझ मानवीय र समावेशी नीतिहरू निर्माण गर्न महत्वपूर्ण पाठ प्रदान गर्ने विश्वास व्यक्त गरेकी छन् ।

