
राजेन्द्र बस्नेतको निर्देशनमा बनेको फिल्म ‘कार्की साइँला’को छायांकन सकिएको छ । धनकुटाबाट छायांकन सुरु गरिएको यो फिल्मको सोमबार बराहक्षेत्रमा अन्तिम दृश्य खिचिएसँगै २१ दिनमा फिल्म प्याकअप भएको हो । एक महिनाको छायांकन तालिका राखिएको भए पनि चुस्त व्यवस्थापनका कारण निर्धारित समयभन्दा ९ दिनअघि नै काम सकिएको निर्देशक बस्नेतले बताए ।
छायांकनको क्रममा फिल्मका मुख्य जोडी जितु नेपाल (मुन्द्रे) र प्रियना आचार्य (मुन्नी)को विवाहको दृश्य समेत खिचिएको थियो । छायांकन पूरा भएसँगै निर्माण पक्षले उक्त दृश्यको तस्वीर सार्वजनिक गरेको छ । यसले फिल्ममा जितु र प्रियना श्रीमान्–श्रीमतीको भूमिकामा रहेको स्पष्ट पार्छ । दुवैले पहिलो पटक फिल्ममा सहकार्य गरेका हुन् ।
कर्ण बहादुर फिल्म्सको ब्यानरमा निर्माण भएको यस फिल्ममा सुशील पोखरेल, विरेन्द्र सिंह कुशहुवा, मान्शी शर्मा, रेणुका आचार्य, दिप्सन लिम्बू, रोदा राई, कमल देवकोटा लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ । फिल्मका निर्माता बालकुमार राई हुन् भने प्रस्तुतकर्तामा कृष्ण भगत चाम्लिङ रहेका छन् ।
फिल्ममा डम्बर राईको छायांकन, किरण दाहालको द्वन्द्व निर्देशन तथा दिप्सन लिम्बूको संगीत रहेको छ । फिल्मका मुख्य सहायक निर्देशक रोजल थापा हुन् । ग्रामीण परिवेशमा निर्माण भएको यो फिल्म भरिया पात्र (पारिश्रमिक लिएर भारी बोक्ने मानिस)को संघर्षको कथामा आधारित रहेको जनाइएको छ । निर्माण टिमले फिल्मको प्रदर्शन मिति भने तय गरेको छैन ।

