
निर्वाचनअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारको बन्द सूची बुझाउँदा कलाकारहरूलाई पनि उल्लेख्य रुपमा समेटेको थियो । त्यसमा प्रकाश सपूतदेखि रिमा विश्वकर्मासम्म परेका थिए । तर, रास्वपाले समानुपातिकतर्फ अत्याधिक मत ल्याउँदा पनि प्रकाश भने सांसद बन्न चुकेका छन् । उनी दलित क्लस्टरतर्फ दोस्रो नम्बरमा थिए ।
सोमबार निर्वाचन आयोगले सार्वजनिक गरेको समानुपातिकतर्फका निर्वाचित सांसदहरूको सूचीमा प्रकाश परेका छैनन् । पार्टीले नै उनको नाम नराखी आइतबार आयोगमा समानुपातिक सांसदहरूको सूची बुझाएको थियो । उनी सांसद बन्नबाट बञ्चित हुनुमा संवैधानिक व्यवस्था बाधक बनेको देखिन्छ । किनकि, संसद़्मा प्रतिनिधित्व गर्ने हरेक दलबाट ३३ प्रतिशत महिला सदस्य हुनुपर्छ ।
सोही व्यवस्थाअनुसार रास्वपाले समानुपातिक सूचीबाट ४८ जना महिलालाई सांसद बनाउँदा पुरुष भने ९ जना मात्र परे । त्यसमा पनि विभिन्न क्लस्टरबाट पुरुषलाई समेट्नुपर्ने भएपछि दोस्रो नम्बरमा रहेका प्रकाश सांसद बन्नबाट चुकेका हुन् । उनीसँगै दलित क्लस्टरतर्फ पहिलो नम्बरमा रहेका ‘चकलेट’ फिल्मका अभिनेता डा. रूपक विश्वकर्मा घिमिरे पनि सांसद बन्न पाएनन् ।
प्रकाश र रूपक समानुपातिक सांसदको रुपमा छनोट नभए पनि रास्वपाबाट अभिनेत्री तथा उद्घोषिका रिमा विश्वकर्मा भने सांसद बनेकी छन् । आयोगले सार्वजनिक गरेको सूचीमा उनको नाम ३५ औं नम्बरमा छ । उनी समानुपातिक सांसदको रुपमा निर्वाचन भएसँगै फिल्मकर्मीहरूलाई उनलाई सामाजिक सञ्जालमार्फत बधाई दिइरहेका छन् ।

