बलिउड सुपरस्टार सलमान खानको मुख्य भूमिका रहेको फिल्म ‘ब्याटल अफ गलवान’को नाम परिवर्तन गरिएको छ । अब यो फिल्म ‘मातृभूमि : मे वार रेस्ट इन पीस’ नामबाट रिलिज हुनेछ । सोमबार फिल्मको एक आधिकारिक पोस्टर सार्वजनिक गर्दै नयाँ नामबारे जानकारी गराइएको हो । फिल्ममा ‘मातृभूमि’ बोलको गीत समेत समावेश छ, जुन सार्वजनिक भइसकेको छ ।
सन् २०२० मा भारतीय र चिनियाँ सेनाबीच भएको गलवान झडपमा आधारित यो फिल्मको नाम परिवर्तन हुनुको मुख्य कारण चीनको प्रतिक्रियालाई लिएर चलिरहेको विवादलाई मानिएको छ । केही समयअघि चीनको सरकारी मिडिया ग्लोबल टाइम्सले एक लेखमार्फत चीन र भारतको सम्बन्ध सुधारोन्मुख रहेको अवस्थामा यो फिल्म प्रदर्शन गर्नु उपयुक्त नहुने उल्लेख गरेको थियो ।
ग्लोबल टाइम्सले मिलिट्री विशेषज्ञ सङ झोङ्गपिङको हवाला दिँदै लेखेको थियो, ‘भारतमा फिल्महरूलाई देशभक्तिको भावना बढाउन प्रयोग गरिन्छ । तर, कुनै पनि फिल्मले गलवान झडपको तथ्य परिवर्तन गर्न सक्दैन । पहिले भारतीय सैनिकहरूले सीमा पार गरेका थिए, जसको जवाफमा चिनियाँ सैनिकहरूले चिनियाँ सीमाको रक्षा गरेका थिए ।’
अपूर्व लाखियाको निर्देशनमा बनेको यस फिल्ममा सलमानको जोडी चित्रांगदा सिंहसँग बाँधिएको छ । फिल्ममा नेपाली अभिनेता अनुप विक्रम शाही पनि मुख्य भूमिकामा प्रस्तुत छन् । चिनियाँ सैनिकको भूमिकामा रहेका उनको सलमानसँग १३ मिनेट लामो एक्सन सिन रहेको बताइएको छ । स्व. गायक प्रशान्त तामाङको पनि फिल्ममा अभिनय देख्न सकिनेछ ।

