गायिका अरुणा लामाको कालजयी गीतमध्ये एक हो, ‘उडी जाऊँ भने म पन्छी होइन ।’ सन् १९७९ मा प्रदर्शन भएको फिल्म ‘परालको आगो’मा समावेश यो गीतले चार दशकपछि पुनर्जीवन पाएको छ । ‘परालको आगो’ नाममा बनेको नयाँ फिल्ममा सोही गीतलाई पुनः रेकर्ड गरेर समावेश गरिएको छ । सोमबार उक्त गीत युट्युबमार्फत दर्शकमाझ ल्याइएको छ ।
मान बहादुर मुखियाको शब्द तथा शान्ति ठटालको संगीत रहेको गीतमा निशु शर्माले स्वर दिएकी छन् । संगीत संयोजन विनोद भुजेलले गरेका हुन् । निशुले अरुणाकै शैलीलाई पछ्याउने प्रयास गरेकी छन् भने विनोदले पनि पुरानो गीतको भाव र मिठासलाई जोगाउँदै नयाँ पुस्ता सुहाउँदो संगीत संयोजन गरेका छन् । यो गीतले अघिल्लो पुस्ताका दर्शकलाई नोस्टाल्जिक बनाउँछ ।
रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरू सुहाना थापा र प्रकाश सपूतलाई प्रस्तुत गरिएको छ । सुहानाले हाउभाउ र भावभंगीमार्फत गीतको भावलाई जीवन्त बनाएकी छन् । युट्युबमा गीत रिलिज भएसँगै उनकै अभिनयको प्रशंसा भइरहेको छ । फिल्ममा उनले ग्रामीण महिलाको भूमिकामा अभिनय गरेकी छन् ।
लक्ष्मण सुनारको निर्देशनमा बनेको यस फिल्ममा सुहाना र प्रकाशसहित सौगात मल्ल, सिर्जना अधिकारी, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने, मन्जिला बाँनिया लगायतका कलाकारहरूले अभिनय गरेका छन् । हरिओम सिने मेकर्सका सुशील पोखरेलले निर्माण गरेको यो फिल्ममा सुशील देवकोटाको लेखन रहेको छ ।
आधुनिक कथाका प्रणेता मानिने गुरुप्रसाद मैनालीको चर्चित कथा ‘परालको आगो’बाट प्रेरित भनिएको यस फिल्ममा संकल्प भुजेलको छायांकन, मिलन श्रेष्ठको सम्पादन, रामजी लामिछानेको नृत्य निर्देशन, कनाल कँवरको रंग संयोजन तथा शान्ती ठटाल, सत्य-स्वरुप र प्रकाश सपूतको संगीत रहेको छ । यो फिल्म बैशाख ११ गते प्रदर्शन हुँदैछ ।

