Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

ओस्कार २०२६ : ‘वन ब्याटल आफ्टर एनदर’ले जित्यो ६ अवार्ड

फिल्मीखबर, काठमाडौं, 2026/03/16

oscar

 

विश्वकै सबैभन्दा प्रतिष्ठित मानिने ओस्कार अवार्डको ९८औँ संस्करणमा हलिउड फिल्म ‘वन ब्याटल आफ्टर एनदर’ले आफ्नो वर्चश्व कायम गरेको छ । सोमबार बिहान अमेरिकाको लस एन्जलसस्थित डल्बी थिएटरमा आयोजित अवार्ड समारोहमा यो फिल्मले ६ वटा विधामा अवार्ड जित्यो । उत्कृष्ट फिल्मदेखि उत्कृष्ट निर्देशकसम्मको अवार्ड फिल्मले आफ्नो नाममा गर्‍यो ।

१३ विधामा मनोनयनमा परेको ‘वन ब्याटल आफ्टर एनदर’ले ६ विधामा अवार्ड जित्दा सर्वाधिक १६ विधामा मनोनयन भएको ‘सिनर्स’ले भने जम्मा ४ वटा अवार्ड हात पार्‍यो । यसले उत्कृष्ट अभिनेता, छायांकन, मौलिक संगीत (ओरिजिनल स्कोर) र मौलिक पटकथाको अवार्ड जितेको हो । ओस्कारमा ‘अवतार फायर एन्ड एश’, ‘ह्याम्नेट’, ‘वेपन्स’ जस्ता फिल्मले पनि अवार्ड प्राप्त गरे ।

 

One Battle After Another 4


यस वर्षको ओस्कार समारोह त्यस्तो समयमा सम्पन्न भयो, जहाँ एकातिर विश्वको ठूलो ध्यान इरान युद्धतर्फ केन्द्रित छ भने अर्कोतिर विश्व फिल्म उद्योग युवा दर्शकसँग पुनः जोडिन संघर्षरत छ । अहिलेको पुस्ता फिल्मभन्दा गेमिङ र युट्युबतर्फ बढी आकर्षित भइरहेको छ । र, विश्व बक्स अफिस अझै पनि महामारीअघिको अवस्थामा फर्किन सकेको छैन ।

यस वर्षको ओस्कार समारोह राजनीतिक रूपमा पनि निकै तीखो रह्यो । प्रस्तोता जिमी किमेलले राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि व्यंग्य गर्दै उनकी पत्नी मेलानियाको आफ्नै नाममा बनेको डकुमेन्ट्री ‘मेलानिया’ कुनै अवार्डका लागि मनोनित नभएको टिप्पणी गरे । अन्य कलाकारहरूले पनि मञ्चमा आफूले पाएको समय विभिन्न मुद्दाको पक्षमा प्रयोग गरे ।

उक्त समारोह विभिन्न अर्थमा ऐतिहासिक पनि बन्यो । ‘वन ब्याटल आफ्टर अनदर’का लागि क्यासान्ड्रा कुलुकुन्डिसले कास्टिङतर्फ पहिलो पटक प्रदान गरिएको ओस्कार अवार्ड जितिन् । उत्कृष्ट लाइभ एक्सन सर्ट फिल्मतर्फ ‘टु पिपल एक्सचेन्जिङ सलाइभा’ र ‘द सिंगर्स’ले अवार्ड प्राप्त गरे । साथै ‘सिनर्स’की अटम डुराल्ड अर्कापो छायांकन विधामा ओस्कार अवार्ड जित्ने पहिलो महिला बनिन् ।

 

Cassandra Kulukundis 2



ओस्कार अवार्ड २०२६ का विजेताको सूची

१. उत्कृष्ट फिल्म

‘वन ब्याटल आफ्टर अनदर’

निर्माता: एडम सम्नर, सारा मर्फी र पल थोमस एन्डरसन

२. उत्कृष्ट निर्देशक

पल थोमस एन्डरसन - ‘वन ब्याटल आफ्टर अनदर’

३. उत्कृष्ट मुख्य अभिनेता

माइकल बी. जोर्डन - ‘सिनर्स’

४. उत्कृष्ट मुख्य अभिनेत्री

जेसी बक्ली - ‘ह्याम्नेट’

५. उत्कृष्ट सहायक अभिनेता

सन पेन - ‘वन ब्याटल आफ्टर अनदर’

६. उत्कृष्ट सहायक अभिनेत्री

एमी मेडिगन - ‘वेपन्स’

७. उत्कृष्ट मौलिक पटकथा

रायन कुगलर - ‘सिनर्स’

८. उत्कृष्ट रूपान्तरित पटकथा

पल थोमस एन्डरसन - ‘वन ब्याटल आफ्टर अनदर’

९. उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर फिल्म

नर्वे - ‘सेन्टिमेन्टल भ्यालु’

१०. उत्कृष्ट वृत्तचित्र फिचर फिल्म

‘मिस्टर नोबडी अगेन्स्ट पुटिन’

११. उत्कृष्ट वृत्तचित्र छोटो फिल्म

‘अल द एम्प्टी रुम्स’

१२. उत्कृष्ट एनिमेटेड फिचर फिल्म

‘केपप डेमन हन्टर्स’

१३. उत्कृष्ट एनिमेटेड छोटो फिल्म

‘द गर्ल हु क्राइड पर्ल्स’

१४. उत्कृष्ट लाइभ एक्सन छोटो फिल्म

‘द सिंगर्स’ - स्याम ए. डेभिस र ज्याक पियाट
‘टु पिपल एक्सचेन्जिङ सलाइभा’ - अलेक्सान्द्र सिंह र नाताली मुस्तेआता

१५. उत्कृष्ट छायांकन

अटम डुराल्ड अर्कापो - ‘सिनर्स’

१६. उत्कृष्ट फिल्म सम्पादन

एन्डी जुर्गेन्सन - ‘वन ब्याटल आफ्टर अनदर’

१७. उत्कृष्ट प्रोडक्सन डिजाइन

‘फ्र्याङ्केनस्टाइन’ 

प्रोडक्सन डिजाइन: तमारा डेभरेल

सेट डेकोरेशन: शेन भियो

१८. उत्कृष्ट पोशाक डिजाइन

केट हाउली - ‘फ्र्याङ्केनस्टाइन’

१९. उत्कृष्ट मेकअप तथा हेयरस्टाइलिङ

‘फ्र्याङ्केनस्टाइन’ - माइक हिल, जोर्डन स्यामुअल र क्लियोना फ्युरी

२०. उत्कृष्ट ध्वनि

‘एफ१’ - गारेथ जोन, अल नेल्सन, ग्वेन्डोलिन येट्स व्हिटल, ग्यारी ए. रिजो र हुआन पेराल्टा

२१. उत्कृष्ट भिजुअल इफेक्ट्स

‘अवतार: फायर एन्ड एश’ - जो लेटेरी, रिचर्ड बनेहम, एरिक साइनडन र ड्यानियल ब्यारेट

२२. उत्कृष्ट मौलिक संगीत (ओरिजिनल स्कोर)

लुडविग गोरान्सन - ‘सिनर्स’

२३. उत्कृष्ट मौलिक गीत

‘गोल्डेन’ - ‘केपप डेमन हन्टर्स’

२४. उत्कृष्ट कास्टिङ

क्यासान्द्रा कुलुकुन्डिस - ‘वन ब्याटल आफ्टर अनदर’