Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

तुलसी घिमिरे निर्देशित ‘पहाड’को टिजरमा के छ ?

फिल्मीखबर, काठमाडौं, 2026/03/15

PAHAAD

 

तुलसी घिमिरेको निर्देशनमा बनेको फिल्म ‘पहाड’को टिजर सार्वजनिक गरिएको छ । आइतबार युट्युबमार्फत सार्वजनिक झण्डै २ मिनेट लामो टिजरले फिल्मको कथावस्तु, परिवेश र चरित्र चित्रणबारे संक्षिप्त झलक प्रस्तुत गरेको छ । पहाडी भूगोलको यथार्थ चित्रणसहित टिजरमा प्रेम, विद्रोह, वैदेशिक रोजगारी र देशप्रेम जस्ता विषयहरू समेटिएका छन् । 

टिजरको पहिलो दृश्यमै पानीको हाहाकार देखाइएको छ भने अर्को एक दृश्यमा महिलाहरूले लास बोकेको देख्न सकिन्छ । यी दुई दृश्यमार्फत निर्देशक घिमिरेले पहाडी भूगोलको पछिल्लो अवस्था र त्यहाँको कठिन जीवनलाई फिल्ममा मुख्य कथावस्तु बनाइएको स्पष्ट संकेत दिएका छन् । नेपालको पहाडी भूगोलदेखि भारतको दिल्लीसम्मका दृश्य टिजरमा समावेश छन् ।

भाग्यरत्न फिल्म्सको ब्यानरमा निर्माण भएको यस फिल्ममा मदनकृष्ण श्रेष्ठ, शिव श्रेष्ठ, स्व. सुनिल थापा, विपिन कार्की, प्रियंका कार्की, रेनुनाथ योगी, अरुण क्षेत्री, भारती घिमिरे, रवीन्द्रसिंह बानियाँ लगायतका कलाकारहरूको अभिनय रहेको छ । निर्देशक घिमिरेकी कान्छी छोरी पञ्चमीले यही फिल्मबाट अभिनेत्रीको रूपमा डेब्यु गरेकी छन् ।

उत्तम रसाइली प्रस्तुतकर्ता रहेको फिल्ममा सुरेन्द्र लामा थिङ, ओजस्वी केसी, रिम्पोछे लामा थिङ र उमा गिरी निर्मातामा छन् । फिल्ममा प्रमोद प्रधानको छायांकन, भारती घिमिरे र शंकर कोइरालाको सम्पादन, रञ्जित गजमेरको संगीत, कविराज गहतराज र मिङ्मा डिलेप्चाको कोरियोग्राफी तथा कुमार महर्जनको द्वन्द्व निर्देशन रहेको छ । यो फिल्म बैशाख १ गतेबाट प्रदर्शनमा आउँदैछ ।