
दाजुभाइबीचको सम्बन्धको कथामा आधारित फिल्म ‘हामी तीन भाइ’ यही चैत १३ गतेबाट प्रदर्शनमा आउँदैछ । फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा शनिबार निर्माण पक्षले भक्तपुरको गुण्डुमा रहेको पलाञ्चोक भगवती मन्दिरमा नयाँ गीत ‘झम्के फुली’को छायांकन गरेको छ । लोकलयमा आधारित यो गीत यसै साता सार्वजनिक गरिँदैछ ।
उक्त गीतमा साप शक्ति र अस्मिता अधिकारीको स्वर रहेको छ । संगीत साप शक्ति स्वयंको हो भने शब्द सुवलमणि सापकोटाले लेखेका हुन् । गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरू कुशल विष्ट, फलित राई, आश्मा गिरी र जाह्नवी बस्नेतले नृत्य प्रस्तुत गरेका छन् । ग्रामीण परिवेश र रहनसहन झल्काउने शैलीमा भिडियो तयार पारिएको जनाइएको छ ।
मधुसुदन भट्टराईको कथा तथा निर्देशन रहेको यस फिल्ममा विनोद न्यौपाने, लक्ष्मी बर्देवा, राजाराम पौडेल, रविन्द्र झा, बिष्णु सापकोटा, विकास चापागाँइ शुष्मा निरौला, यादव देवकोटा, अन्जु हमाल, तारा शर्मा लगायतका कलाकारहरूको पनि अभिनय देख्न सकिनेछ । प्रसिद्धि सिने आर्ट्सको ब्यानरमा निर्माण भएको फिल्मका निर्माताहरू त्रिरत्न श्रेष्ठ र मनोज श्रेष्ठ हुन् ।
साजित महत प्रस्तुतकर्ता रहेको फिल्मको कार्यकारी निर्मातामा विक्रम तामाङ छन् भने सह-निर्माताहरू भक्तलाल श्रेष्ठ, प्रतिमा थापा पोखरेल र दुर्गालक्ष्मी पाण्डे हुन् । फिल्ममा शिवम् अधिकारीको पटकथा तथा संवाद, शिव ढकालको छायांकन, बनिश शाहको सम्पादन तथा साप शक्ति र बाबुल गिरीको संगीत रहेको छ ।

