
अभिनेता शिव श्रेष्ठलाई मुख्य भूमिकामा लिएर फिल्म ‘टेम्के: द डेस्टिनेसन’ निर्माण हुने भएको छ । शुक्रबार यो फिल्मको सुन्धारास्थित भन्द्रकाली मन्दिरमा धार्मिक विधिअनुसार स्क्रिप्ट, क्यामेरा र क्ल्याप पूजा गर्दै शुभ मुहूर्त गरियो । उक्त कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले क्ल्याप बजाएर मुहूर्त सटको निर्देशन गरेका थिए ।
आर.डी.एस. नेपालको ब्यानरमा बन्ने यस फिल्मको निर्देशन देवप्रसाद धिमालले गर्नेछन् । यही फिल्मबाट उनले निर्देशनमा डेब्यु गर्न लागेका हुन् । धिमाल स्वयं निर्माता रहेको फिल्ममा पंकज सरदार सह-निर्मातामा छन् भने कार्यकारी निर्मातामा सञ्चारकर्मी भोला सुवेदी (प्रणव), राजनजंग थापा र जित शेरचन रहेका छन् ।
सामाजिक कथावस्तुमा निर्माण हुने यस फिल्ममा शिवसहित अर्जुन थापा, प्रितिका शर्मा, कृष्णप्रसाद धिताल, रिना गुरुङ, सरु कार्की, श्रीदेव भट्टराई, गोकुल सुवेदी, सावित्रा चिलवाल, सृजना बुढा, अभिषेक फुयाँल, रविना दुलाल लगायतका कलाकारहरूको अभिनय रहनेछ । फिल्मको छायांकन नरेश ऐयरले गर्नेछन् भने द्वन्द्व निर्देशनको जिम्मेवारी राजु किराँतले सम्हाल्नेछन् ।
निर्माण पक्षले फिल्मको छायांकन आगामी चैतको दोस्रो सातादेखि सुरु गर्ने योजना बनाएको छ । फिल्मको छायांकन काठमाडौं र भोजपुरका विभिन्न स्थानमा हुनेछ । निर्देशक धिमालका अनुसार नेपाली समाजमा घटेका यथार्थ घटनालाई फिल्ममा रोचक शैलीमा प्रस्तुत गरिनेछ । टेम्के पात्रको संघर्षको कथामा फिल्म आधारित रहने उनको भनाइ छ ।

