
काठमाडौं क्षेत्र नम्बर ५ बाट संसदीय चुनाव लडेकी अभिनेत्री निशा अधिकारीले आफ्नो चुनावी खर्चको विवरण निर्वाचन आयोगमा बुझाएकी छन् । प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ तथा निर्वाचन आयोगले स्वीकृत गरेको निर्वाचन आचारसंहिता बमोजिम उनले शुक्रबार आयोगमा चुनावी प्रचारप्रसार र व्यवस्थापनको खर्च विवरण पेस गरेकी हुन् ।
निशाले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको विवरण अनुसार उनको चुनावी अभियानमा ७ लाख ७६ हजार ९२१ रुपैयाँ खर्च भएको छ । उनको सबैभन्दा धेरै खर्च सामाजिक सञ्जाल (विज्ञापन र डिजाइन)मा भएको देखिन्छ । यसमा उनले साढे २ लाख रुपैयाँ खर्च गरेकी छन् । कार्यालय सञ्चालन, सवारी साधन, फोटो-भिडियो लगायतमा पनि उनको ठूलो खर्च भएको देखिन्छ ।
उनले चुनावी खर्चसँगै निर्वाचन (कसूर तथा सजाय) ऐन २०७३ को दफा ३१ बमोजिम आम्दानीको विवरण पनि आयोगमा बुझाएकी छन् । उनले आफू चुनाव लडेको गतिशील लोकतान्त्रिक पार्टीबाट २ लाख रुपैयाँ, व्यक्तिगत सहयोगबाट ५ लाख ४९ हजार ६७ रुपैयाँ र उम्मेदवारको तर्फबाट २७ हजार ८५५ रुपैयाँ प्राप्त भएको विवरणमा उल्लेख गरेकी छन् ।
गत माघ ६ गते उम्मेदवारी दर्ता गराएसँगै निशाले ५ बुँदे एजेन्डासहित काठमाडौं-५ मा चुनावी अभियान तीव्र बनाएकी थिइन् । तर, उनले अपेक्षाअनुसार मत भने पाउन सकिनन् । उनको जमानत समेत जफत भयो । उनले जम्मा ९१ मत पाइन् । चुनावमा पराजय बेहोरेपछि उनले सामाजिक सञ्जालमार्फत संसदमा पुग्ने सपना अझै जीवित रहेको बताएकी थिइन् ।

