नयाँ वर्षको छेको पारेर चैत २७ गतेबाट प्रदर्शन हुन लागेको एक्सनप्रधान फिल्म ‘राम नाम सत्य’को टिजर सार्वजनिक गरिएको छ । अभिनेता विराज भट्टलाई केन्द्रमा राखिएको २ मिनेट लामो टिजर एक्सन दृश्यले भरिएको छ । विराज सयौं भिलेनसँग लडिरहेका देखिन्छन् । टिजरमा प्रोडक्सन भ्यालु उच्च देखिएको छ भने एक्सनलाई साउथ शैलीमा खिचिएको छ ।
टिजरको सुरूवातमै विराजको संवाद छ, ‘मृत्युलाई सारथी ठान्ने म, पहिलो पटक डराएँ । जब आँखै अगाडि आफ्ना मान्छेहरू गुमाएँ ।’ यो संवादमार्फत निर्देशकले फिल्मको कथावस्तु बुझाउन खोजेको देखिन्छ । आफ्नालाई गुमाएपछि नायक पात्रले लिने बदलामा फिल्म आधारित रहेको यसले स्पष्ट संकेत गर्छ । टिजरमा विराजलाई पश्चिमेली भाषा बोलेको पनि देख्न सकिन्छ ।
कोरियोग्राफरको रूपमा परिचित माइकल चन्दको निर्देशनमा बनेको यस फिल्ममा विराजसहित सुशील श्रेष्ठ, दिव्या रायमाझी, सुपुष्पा भट्ट, आयुष सिंह ठकुरी, स्व. सुनिल थापा, प्रशान्त ताम्राकार लगायतका कलाकारहरूको अभिनय रहेको छ । टिजरमा यी सबै कलाकारलाई देख्न सकिन्छ । तर, विराज र सुनिलबाहेक अरूको संवाद भने राखिएको छैन ।
माइकल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो फिल्मका लगानीकर्ता उपेन्द्र शाही र स्वेता विमली हुन् । कार्यकारी निर्मातामा किशोर भट्ट, राजेन्द्र भट्ट र अर्जुन सुनार रहेका छन् भने क्रियटिभ निर्माता मोती कार्की हुन् । यसमा मानकृष्ण महर्जनको डीओपी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन, बन्दे प्रसादको सम्पादन तथा बाबुल गिरी, अर्जुन पोखरेल, एसडी योगी र नवा अन्सारीको संगीत छ ।

