Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फिल्ममा इच्छामृत्युको कथा : नेपालमा ‘मंगलम’, भारतमा ‘गुजारिश’

फिल्मीखबर, काठमाडौं, 2026/03/12

MANGALAM

 

बुधबार भारतको सर्वोच्च अदालतले एउटा ऐतिहासिक फैसला गर्‍यो । झण्डै १३ वर्षदेखि कोमामा रहेका ३२ वर्षीय हरीश राणालाई अदालतले निष्क्रिय इच्छामृत्युको अनुमति दिएको हो । निष्क्रिय इच्छामृत्यु भनेको कुनै गम्भीर वा निको नहुने रोगबाट पीडित बिरामीलाई जीवन लम्ब्याउने उपचार बन्द गरेर प्राकृतिक रूपमा मृत्यु हुन दिनु हो ।

भारतको सर्वोच्च अदालतले निष्क्रिय इच्छामृत्युबारे गरेको फैसलाको यतिबेला विश्वमै व्यापक चर्चा र बहस भइरहेको छ । र, यो विषयमा बनेका फिल्मको पनि खोजीनीति बढेको छ । हलिउड र बलिउडमा यो विषयमा थुप्रै फिल्म निर्माण भइसकेका छन् । नेपालमा पनि इच्छामृत्युको विषयलाई समेटेर करिब ७ वर्ष अगाडि फिल्म ‘मंगलम’ निर्माण भएको थियो ।

नवल नेपालको निर्देशनमा बनेको उक्त फिल्म पूर्ण रुपमा इच्छामृत्युको कथामा आधारित भने थिएन । यद्यपि, फिल्मले निको नहुने रोगबाट पीडित व्यक्तिले स्वैच्छिक मृत्युवरणको अधिकार माग्दा दिनुपर्छ भन्ने पक्षमा वकालत गरेको थियो । त्यसबेला फिल्मले उठाएको विषयलाई लिएर बहस पनि भएको थियो । यसपछि भने नेपालमा इच्छामृत्युको विषयमा फिल्म बनेका छैनन् ।

बलिउडमा भने ७० कै दशकमा इच्छामृत्युको विषयमा फिल्म बनेको थियो । सन् १९७९ मा निर्माण भएको फिल्म ‘शायद’ यही विषयमा आधारित थियो । नसीरुद्दीन शाह र सिमी गरेवालको मुख्य भूमिका रहेको यो फिल्मले एउटा प्रश्न उठाएको थियो- ‘के अन्तिम चरणको बिरामी (अचिकित्स्य रोगबाट पीडित व्यक्ति)लाई बाँच्न बाध्य गरिनु पर्छ ?’

इच्छामृत्युको विषयमा निर्देशक सञ्जय लीला भन्सालीले पनि १६ वर्षअघि फिल्म ‘गुजारिश’ बनाएका थिए । ऋतिक रोशन र ऐश्वर्या रायको मुख्य भूमिका रहेको यो फिल्ममा जादूगर एथन मस्करेन्हाको कथा देखाइएको छ, जो हिँडडुल गर्न नसक्ने भएपछि अदालतमा इच्छामृत्युको अनुमति माग्छन् । यसलाई इच्छामृत्युको विषयमा छलफल गर्ने पहिलो मूलधारको हिन्दी फिल्म मानिन्छ ।

सन् २०१८ मा प्रदर्शन भएको बंगाली ड्रामा ‘पुपा’ पनि इच्छामृत्युको विषयमा आधारित थियो । अभिनेत्री काजोल अभिनीत फिल्म ‘सलाम भेन्की’ (२०१८)ले पनि यही विषय उठाएको थियो । यसमा दुर्लभ रोगबाट पीडित भेन्की पात्र अंग दान गर्न इच्छामृत्युको कानुनी लडाइँ लड्छन् । उनको गौरवपूर्ण मृत्युअधिकारको समर्थनमा उनकी आमा (काजोल) पनि खडा हुन्छिन् ।

इच्छामृत्युको विषयमा बनेको एक स्पेनिस फिल्मले ओस्कार समेत जितेको छ । सन् २००४ मा निर्माण भएको ‘द सी इनसाइड’ले उत्कृष्ट गैर-अङ्ग्रेजी भाषाको ओस्कार अवार्ड जितेको थियो । यसबाहेक इच्छामृत्युको विषयमा आधारित भएर हलिउडमा ‘मी विफोर यू’, ‘योर्स नट यू’, ‘हुज् लाइफ इज इट एनिवे ?’, ‘लास्ट डेज’ जस्ता फिल्म पनि बनेका छन् ।