
संसदीय निर्वाचनका कारण केही साता पूर्ण रूपमा प्रभावित भएको फिल्म क्षेत्र मतगणना सकिएसँगै फेरि चलायमान हुन थालेको छ । धमाधम फिल्म घोषणा र छायांकन भइरहेको छ भने प्रदर्शनको पर्खाइमा रहेका फिल्मले प्रचार अभियान सुरू गरिसकेका छन् । यही सातादेखि हलमा नयाँ फिल्म लाग्ने क्रम पनि सुरू हुँदैछ । भोलि शुक्रबार फिल्म ‘लालिमा’ प्रदर्शनमा आउँदैछ ।
तीन हजार यौनकर्मी महिलाको अनुभवमा आधारित यस फिल्मको बुधबारबाट अग्रिम टिकट बिक्री सुरू भइसकेको छ । फिल्मले पहिलो दिनका लागि देशव्यापी ५४ शो पाएको खल्ती एपमा देखिन्छ । अझै केही हलले बुकिङ खुलाउन बाँकी रहेकाले साँझसम्म शो संख्या ६० हाराहारी पुग्न सक्छ । अब यो फिल्मका लागि मुख्य चुनौती भनेको प्राप्त शोलाई अकुपेन्सीमा बदल्नु हो ।
यस फिल्ममा रोशनी कार्की मुख्य भूमिकामा छिन् । उनले यौनकर्मीको भूमिका निभाएकी छन् । उनले यो भूमिका निभाउन १० जना यौनकर्मीसँग भेट समेत गरेकी थिइन् । उनीसहित फिल्ममा शिशिर वाङ्देल, जीवन भट्टराई, उषा रजक, सुष्मा निरौला, सबिन कट्टेल, घनश्याम जोशी लगायतका कलाकारहरूको पनि अभिनय देख्न सकिनेछ ।
रोशन मिराजको लेखन तथा निर्देशन रहेको फिल्मलाई फेथ आस्था र एम्पिफाई चेन्जले निर्माण गरेका हुन् । कार्यकारी निर्मातामा रीना लामा छिन् । यसमा रोविन शर्मा दाहालको छायांकन तथा गौतम राज खड्काको सम्पादन छ । बोल्न नसक्ने आमा एक घटनाले कारागार पुगेपछि उनलाई छुटाउन छोरीले गर्ने संघर्षको कथामा फिल्म आधारित रहेको जनाइएको छ ।

