
अपराध र बदलाको कथामा फिल्म ‘मुक्तिपुर’ निर्माण हुने भएको छ । मंगलबार बिहान काठमाडौंको बसुन्धारास्थित इन्द्रायणी मन्दिरमा मुहूर्त पूजा गर्दै फिल्मको औपचारिक रूपमा निर्माण घोषणा गरियो । मुहूर्तसँगै फिल्मको छायाकंन पनि सुरू गरिएको छ । काठमाडौं आसपासका क्षेत्रमा ४० दिन फिल्मको छायांकन हुने जनाइएको छ ।
साहिबा फिल्मस् प्रोडक्सनको ब्यानरमा निर्माण हुने यस फिल्मलाई सुनिल पाण्डेले निर्देशन गर्नेछन् । यो उनको डेब्यु निर्देशन हो । यसको कथा उनी स्वयंले तयार पारेका हुन् । उनले ‘मुक्तिपुर’ले एक आम परिवारको प्रतिनिधित्व गर्ने पात्रको जीवनमा आउने अकल्पनीय मोड र त्यसपछिको बदलाको कथा बोल्ने बताए ।
फिल्ममा नाजिर हुसेन, गौरव पहारी, प्रकाश शाह, एवनराज उप्रेती र आकृति बुढाथोकी प्रमुख भूमिकामा देखिनेछन् । आकृतिले यही फिल्मबाट अभिनेत्रीको रूपमा डेब्यु गर्न लागेकी हुन् । घनश्याम जोशी, सरस्वती अधिकारी, अनिल कुर्मी, स्वायम केसी, हरोन अली, उदय अली, सारा शर्मा, अनामिका लामिछाने लगायतका कलाकारहरूको पनि फिल्ममा अभिनय रहनेछ ।
शरद महतोको छायांकन तथा सम्राट बस्नेतको द्वन्द्व निर्देशन रहने यस फिल्ममा विजय राजवंशी र रोशन पासवान निर्मातामा छन् । ‘एभरेष्ट फिल्म एकेडेमी’ले पनि निर्माणमा सहकार्य गरेको छ । फिल्मका कार्यकारी निर्माता विशाल श्रेष्ठ तथा सह-निर्माता केशव गौतम हुन् । निर्माण टिमले छायांकन सकिएको ६ महिनाभित्र फिल्म प्रदर्शन गर्ने लक्ष्य राखेको छ ।

